काठमाडौं–
सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था अहिले सामान्य रहेकाे प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन्। प्लाज्मा फेरेसिस् प्रक्रिया मार्फत उपचार जारी राखिएको र अवस्था सामान्य रहेको जानकारी गराइएकाे हाे।
प्रधानमन्त्री ओलीसँगै सिंगापुरमा रहेका रिमालले ट्विट गर्दै प्लाज्मा फेरेसिस प्रक्रियाबाटै उपचार भइरहेको जानकारी दिएका हुन्। प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलामा एन्टिबडीको मात्रा बढेपछि चिकित्सकले प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत गत शुक्रबारदेखि उनको उपचार थालेका थिए।
सम्माननीय प्रधानमन्त्रीज्यूको प्लाज्मा फेरेसिस प्रकृयाबाट उपचार जारी छ। उहाँ ‘को नीजि चिकित्सक प्रा. डा. दिव्यासिंह शाह आज स्वदेश फर्कनु भएको छ। उहाँका अनुसार यो उपचार प्रकृया अर्को साता सम्ममा पुरा हुनेछ। प्लाज्मा फेरेसिस् उपचार विधि सुरुमा ३ पटक सम्म गरिन्छ।
त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटक सम्म गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ। यही विधिमार्फत शुक्रबारबाट थालिएको प्रधानमन्त्रीको उपचार अर्को सातासम्ममा पूरा हुने रिमालले बताएका छन्। रिमालका अनुसार नयाँ विधीबाट थालिएको उपचारबाट प्रधानमन्त्रीले स्वास्थ्यलाभ गरिरहेका छन्। उनको अवस्था अहिले सामान्य छ। प्रधानमन्त्रीसँगै सिंगापुर गएकी उनकी निजी चिकित्सक डा. दिव्यासिंह शाह भने बुधबार नै स्वदेश फर्किएको पनि रिमालले जानकारी दिएका छन्।
उपचार प्रक्रिया चलिरहेका बेला शाह किन फर्किइन् भन्नेबारे भने उनले केही खुलाएका छैनन्। मिर्गौला समस्याबाट पीडित प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार, गत साता सिंगापुर प्रस्थान गरेका थिए। उनको अहिले नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ। विभिन्न प्रयोग र परीक्षण गर्नुपर्ने भएकाले उनको उपचारका लागि केही समय लाग्ने पनि बताइएको छ।