सुरुङ्गा - झापाको दमकमा ३ महिनाअघि देखा परेको डेङ्गु रोग अझै नियन्त्रणमा आएको छैन। अहिले दमकका विभिन्न अस्पतालमा डेङ्गुका बिरामीको सङ्ख्या १ सय २० नाघेको छ।
दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार दमक अस्पतालसहित आम्दा, लाइफलाइन, एडभान्स अस्पताल लगायतमा डेङ्गुका बिरामीले उपचार गराइरहेका छन्। डेङ्गुको सङ्क्रमणले महामारीको रूप लिएपछि अहिले बिरामीलाई अस्पतालभित्र झुल टाँगेर राखिएको छ।
लामखुट्टेबाट जोगाउन बिरामीलाई झुल टाँगेर उपचार शुरु गरिएको लाइफलाइन अस्पतालमा कार्यरत डा. खुश्वु प्रियाले बताइन्। उनले भनिन्, “डेङ्गुका बिरामीलाई टोकेको लामखुट्टेले अरूलाई नटोकोस् र डेङ्गु नसरोस् भनेर झुल टाँगेर अपचार शुरु गरेका हौँ।”
डा. प्रियाले दमक आसपासको क्षेत्रमा यो रोगको सङ्क्रमण ज्यादै फैलिएकाले सबैलाई सचेत रहन आग्रह गरिन्। ३ वर्षअघि पनि दमक क्षेत्रमा डेङ्गु रोग देखापरेको थियो। डेङ्गु रोग फैलिएपछि दमक नगरपालिकाले दमक अस्पतालमा आएका सबै बिरामीको निःशुल्क उपचार गराउँदै आएको छ। निजी अस्पतामा पनि सङ्क्रमितको निःशुल्क उपचारको पहल गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख अर्यालले बताए।
उनले भने, “डेङ्गुको सङ्क्रमण भेटिए दमक अस्पताल पठाइदिन आग्रह गरेका छौँ।” नगरपालिकाले प्रदेश सरकारसँग डेङ्गु रोग नियन्त्रणका लागि आवश्यक पहलको माग गरेको छ। अहिले दमक अस्पतालमा २४, एडभान्समा ३४, आम्दामा ३१ र लाइफलाइनमा ३१ डेङ्गु सङ्क्रमितको उपचार भइरहेको छ। (रासस)