सुरुङ्गा - सर्पदंशका कारण झापामा पछिल्लो ३ दिनमा २ जनाको मृत्यु भएको छ। यही साउन १४ गते गोमन सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–३ निवासी ५२ वर्षीय छत्रबहादुर पौडेलको मृत्यु भएको थियो।
यसैगरी बिहीबार सर्पको डसाइबाट बिर्तामोड–१० निवासी सरिता थापाको मृत्यु भएको छ। थापालाई आफ्नै घरको कौसीमा विषालु सर्प गोमनले डसेको स्थानीय घनश्याम रायले जानकारी दिए।
थापालाई सर्पले डसेलगत्तै सर्पदंश उपचार केन्द्र चारआली पुर्याए पनि उनको उपचारकै क्रममा निधन भएको बताइएको छ। पछिल्लो समय झापामा सर्पदंशका बिरामी बढेका छन्। गर्मी बढेसँगै झापामा सर्पदंशका बिरामी बढेका हुन्। झापामा वर्षेनि झन्डै ३ हजार ५ सयभन्दा बढी सर्पदंशका बिरामीले जिल्लास्थित ३ सर्पदंश उपचार केन्द्रबाट सेवा लिएका छन्।
केन्द्रका प्राविधिक खेमचन्द्र अधिकारीका अनुसार दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा अहिले दैनिक ७ देखि १० जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्। केन्द्रमा वैशाख र जेठ मसान्तसम्ममा मात्र २ सयकाे हाराहारीमा सर्प डसाइका बिरामीले उपचार सेवा लिएको उल्लेख गरिएको छ।
विसं २०५५ मा स्थापित सो केन्द्रले सर्पको डसाइका कारण बढ्दो मृत्युदर रोक्न मोटरसाइकल स्वयंसेवक कार्यक्रमसमेत परिचालन गरिएको जनाएको छ। दमकमा झापा जिल्लाका साथै मोरङ, दक्षिणी चुलाचुली इलाम र गौरीगञ्जसहित दक्षिण भारतका समेत बिरामी उपचार गर्न आउने गरेको केन्द्रका प्राविधिक गङ्गाराज उप्रेतीले बताए।
केन्द्रमा एक मेडिकल अफिसर, एक एनेस्थेसिया र अन्य ६ प्राविधिक स्वास्थ्यकर्मीले २४सै घन्टा सर्पदंशका बिरामीलाई सेवा उपलब्ध गराउँदै आएका छन्। केन्द्रमा १३ शय्या राखिएका छन्। यस्तै श्री नयाँ श्रीनाथ गण चारआलीमा नेपाली सेनाको ब्यारेकसहित कन्काई नगरपालिकाको कोटीहोममा सहारा नेपाल सहकारी संस्थाको अगुवाइमा सर्पदंश उपचार केन्द्रबाट पनि सर्पदंशका बिरामीले सेवा लिँदै आएका छन्। (रासस)