खोटाङ - अँगेनाको आगोमा परेर गम्भीर घाइते बनेका केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित लङ्खाका ५ महिने शिशु प्रवीण राईको उद्धार गरिएको छ।
गत असार २७ गते आफ्नै घरको अँगेनामा परेर दुवै हातको नाडीमाथिको भाग र निधार डढेर गम्भीर घाइते भएका शिशुलाई नेपाल तरुण दल खोटाङले चन्दा उठाएर थप उपचारका लागि आइतबार उद्धार गरेको हो ।
खर्च अभावमा सुविधासम्पन्न अस्पताल जान नसकेका घाइते शिशुका आमा निर्मला राईलाई तरुण दलका जिल्ला अध्यक्ष भीषण राईले चन्दा सङ्कलन गरेर जम्मा भएको रु. १ लाख १३ हजार ३ सय ६५ हस्तान्तरण गरेका छन्।
घाइते प्रवीणलाई जिल्ला अस्पताल दिक्तेलमा ल्याए पनि आवश्यक उपचार नभएको र खर्चसमेत नभएकाले घर फर्कने तयारी गरिरहेको अवस्थामा थप उपचार गराउन तरुण दलले चन्दा सङ्कलन गरेको हो। खर्च नहुँदा ३ दिनदेखि अस्पतालमा गम्भीर घाइते बनेका शिशुलाई राखिएको जानकारी प्राप्त भएपछि चन्दा उठाएर आइतबार साँझ नै काठमाडौँस्थित कान्ति बाल अस्पताल पठाइएको अध्यक्ष राईले बताए।
“यातायात व्यवसायीलाई आग्रह गरेर घाइते बच्चा र आमालाई गाडीमार्फत निःशुल्क काठमाडौँ पठाइएको छ,” उनले भने, “उनीहरूलाई सम्पर्क गर्न मोबाइल सेट र सिमसमेत खरिद गरेर प्रदान गरिएको छ।” काठमाडौँमा पनि नेपाली कांग्रेस खोटाङ–काठमाडौँ सम्पर्क समितिले शिशुको निःशुल्क उपचारको व्यवस्था मिलाउने जनाइएको छ।
कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, जिल्ला अस्पताल खोटाङका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन देवकोटा लगायतको उपस्थितिमा तरुण दलले सहयोग रकम हस्तान्तरण गरेको हो। प्रवीणको उपचारमा रावाबेँसी गाउँपालिकाका किरण राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका हरि राईले सङ्कलन गरेको रु. ११ हजार ५५ समेत आइतबार नै उनका आमा निर्मलालाई प्रदान गरिएको छ।
आगोमा परेर गम्भीर घाइते बनेका प्रवीणको दायाँ र बायाँ दुवै हातको हत्केलामाथिको भाग डढेर डल्लो परेको छ भने निधारमाथिको भागसमेत डढेको छ। ३ छोरी र ६ छोरामध्ये घाइते प्रवीण कान्छो सन्तान हुन्। (रासस)