काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानविनका लागि गठित समितिको कार्यशैली उपयुक्त नभएको बताएका छन्। प्रतिष्ठानको तेस्रो सभाको बैठकलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
प्रतिष्ठानमा अनियमितता भएको विषयमा सरकारले जेठ ३० गते छानविन समिति गठन गरेको थियो। समितिको हवाला दिँदै प्रतिष्ठानकी उपकुलपति प्रा. डा. संगीता भण्डारीलाई कारबाहीका लागि सिफारिस गरिएको प्रतिवेदन विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेका थिए।
प्रधानमन्त्री ओलीले कुलपतिलाई बुझाउनुपर्ने प्रतिवेदन विभिन्न सञ्चार माध्यममा देखिनु उचित नभएको बताए। ‘समितिले प्रतिवेदन सबैभन्दा पहिले कुलपतिलाई बुझाउनुपर्ने हो तर यो सामाजिक सञ्जाल र सञ्चार माध्यममा बुझाएजस्तो छ’ प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘यो प्रतिवेदन हो कि राजनीति हो? समितिमा रहेका सदस्यहरु छानविन गर्न कि राजनीति गर्न जानुभएको? जिम्मेवारी लिनेहरुले आफ्नो कर्तव्य र दायित्वलाई ख्याल गर्नु पर्दछ।’
प्रधानमन्त्री ओलीले प्रतिवेदनको विश्वसनीयतामाथि प्रश्न उठेको बताए। ‘प्रतिवेदन कुलपतिलाई बुझाउनुभन्दा पहिले अन्यत्र बुझाएर दबाब सिर्जना गर्न खोजिएको छ तर त्यस्तो दबाबमा म पर्दिनँ। सत्यतथ्य बुझेर मात्र अघि बढ्छु,’ प्रधानमन्त्री ओलीले भने।