काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले तिलगंगा आँखा प्रतिष्ठानसँगै प्रतिष्ठानका संस्थापक एवम् कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइतको प्रशंसा गरेका छन्। प्रतिष्ठानको २५औं वार्षिकोत्सवको अवसरमा सोमबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले डा. रुइत र प्रतिष्ठानले नेपालको गौरवपूर्ण परम्परालाई सम्झाएको बताए।
प्रधानमन्त्री ओलीले विद्वान पूर्खाहरुको देश नेपालमा सन्दुकले आँखा उपचारको क्षेत्रमा चमत्कारिक काम गरेको बताए। ‘डा.रुइतले गौरवपूर्ण इतिहास सम्झाउनु भएको छ,’ ओलीले भने, ‘आँखा उपचारको लागि विश्वको अग्रणी संस्था स्थापना गरेर धेरैलाई नयाँ संसार देखाउन उहाँ सफल हुनुभएको छ।’
डा.रुइतको प्रयासमा अन्धोपनका धेरै बिरामीहरुले नयाँ उज्यालो संसार देख्न पाएकोमा प्रधानमन्त्री ओलीले खुसी व्यक्त गरे। तिलगंगा आँखा अस्पतालको प्रेरणाबाट धेरैले सेवामुखी अस्पताल खोल्ने प्रेरणा लिनुपर्ने उनले बताए। ओलीले थपे, ‘तपाईंहरुका प्रयास र सेवा अनुकरणीय छन्। सरकारको तर्फबाट अनुसन्धान, तालिम र उपचारमा यथेष्ट सहयोग हुनेछ।’