डडेल्धुरा - ४ दिनदेखि बन्द रहेको डडेल्धुरा अस्पतालको सेवा पुनःसञ्चालन गर्नुपर्ने माग गर्दै डडेल्धुरा सदरमुकामका स्थानीयवासीले आइतबार जुलुस प्रदर्शन गरेका छन्।
विगत ४ दिनदेखि अस्पतालको ओपीडी सेवा बन्द हुनुका साथै डाक्टरले जिल्ला छोडेपछि अस्पतालको सेवा ठप्प भएको भन्दै तत्काल अस्पतालको सेवा पुनः सञ्चालन गर्नका लागि सदरमुकामवासीले आन्दोलन गरेका हुन्।
बागबजारबाट निकालिएको र्यालीले जिल्ला प्रशासन कार्यालयमा पुगी अस्पतालको सेवा तत्काल सञ्चालन गरी मानिसको स्वास्थ्य सेवा पाउने अधिकारको रक्षा गर्न माग गर्दै डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएका छन्।
उनीहरूले तत्काल अस्पतालको सेवा सञ्चालन नगरे कडा आन्दोलनमा उत्रिने दिएकाे स्थानीयवासी प्रकाश जैरुले बताए। अस्पतालको सेवा पुनः सञ्चालन गर्नका लागि पहल भइरहेको प्रजिअ पौडेलले बताए। अस्पतालमा ढुङ्गामुढा गर्नुका साथै डाक्टरमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै डडेल्धुरा अस्पतालका नि. मेसु जीतेन्द्र कँडेल बाहेकका अन्य १० जना डाक्टरले जिल्ला छोडेपछि डडेल्धुरा अस्पतालको ओपीडी सेवा पूर्णरूपमा बन्द हुँदा आकस्मिक सेवासमेत प्रभावित बनेको छ।
४ दिनदेखि अस्पतालको ओपीडी सेवा बन्द हुँदा डडेल्धुरासहित सुदूरपश्चिमका अन्य ६ पहाडी जिल्लाका बिरामी मर्कामा परेका छन्। डडेल्धुरा अमरगढी नगरपालिका–११ का रमेश खड्काको मोटरसाइकल दुर्घटनामा परी उपचारका लागि भारत लग्दै गर्दा बाटोमै मृत्यु भएपछि डडेल्धुरा अस्पतालमा शव परीक्षण गर्दा मृतकका आफन्तले डडेल्धुरा अस्पतालमा ढुङ्गामुढा गर्नुका साथै डाक्टरमाथि हातपात गरेका थिए। (रासस)