बेझाड (पाल्पा) - लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार मध्याह्न जन्मिएको शिशु दिउँसो ३ बजे अस्पताल परिसरबाटै हराएको छ।
तानसेन नगरपालिका–९ बस्ने २२ वर्षीया जमुना रानाले जन्माएको शिशु केही घन्टामै हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी कृष्णराज सापकोटाले बताए। सुत्केरी जमुनाको रेखदेख गर्न साथमा उनकी आमा अस्पतालमा आएकी थिइन्। अर्धचेत अवस्थामा रहेकी जमुनालाई आमाले झोलिलो खानेकुरा लिन क्यान्टिनमा नवजात शिशु काखमै बोकेर पुगेकी थिइन्।
उनीसँगै एक जना अपरिचित महिलाले सहयोग गर्ने बाहनामा सँगै गएको उनकी आमाको भनाइ छ। अपरिचित महिलाले शिशु आफूले अस्पतालको कक्षमा ल्याइदिने बाहना गरी ज्वानोको झोल जमुनाकी आमालाई लैजान पठाएको बताइएको छ।
छोरीसँग पुगेको केही समयसम्म अपरिचित महिलाले शिशु लिएर नगएपछि खोजी कार्य भएको हो। सो घटनाबारे अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। (रासस)