काठमाडौँ - काठमाडौँमा ‘सिरिञ्ज’ आक्रमण भएको समाचार सञ्चार माध्यमहरूमा आइरहे पनि अहिलेसम्म त्यसको पुष्टि भएको छैन। अहिलेसम्मको अनुसन्धानबाट आक्रमणको पुष्टि नभएको प्रहरीले जानकारी दिएको छ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले अहिलेसम्म सिरिञ्ज आक्रमणको पुष्टि नभएको बताए। उनले भने, ‘अनुसन्धान भइरहेको छ। घटनाले प्रहरीलाई थप जिम्मेवार बनाएकाे छ। हामीले गम्भीर रुपमा अनुसन्धान थालेका छाैँ। सीसीटीभीकाे फुटेज स्पष्ट नहुँदा समस्या भएकाे छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले पीडितहरुमा भने राेग सर्ने हाे कि भन्ने मनोवैज्ञानिक असर परेकाे पाइएको बताए। हल्लामा आएजस्तो घटना भएको होइन। फलामको काँटीले घाेँचेजस्तो देखिन्छ,’ डा. बास्तोलाले भने, ‘कुनै प्रकारको विषादी तथा रोगको लक्षण पनि भेटिएको छैन। सिरिञ्जले नै आक्रमणा गरेकाे हाे भन्ने पुष्टि भएको छैन।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिलेसम्म पाँचजना त्यस्ता पीडितहरु उपचारका लागि आएको अस्पतालले जानकारी दिएको छ। पीडितहरुको शरीरकाे बाहिरी भागमा चोट भए पनि त्यस्तो गहिरो चोट र अन्य संक्रमण नभएकाे डा. बास्तोलाले नेपाली पब्लिकलाई जानकारी दिए।
नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले सांसदमा समेत पछिल्लो समय काठमाडौँमा भएको सिरिन्ज आक्रमण रोक्न र दोषीलाई कारवाही गर्न माग गरेकी थिइन। सोमबार संघीय संसद बैठकको शुन्य समयमा सांसद पन्तले ‘राजधानीमा ४ जना युवती तथा महिलामाथि ‘सिरिन्ज’ आक्रमण भएको र उनीहरूमा एचआइभी तथा हेपाटाइटिस बी र सीको संक्रमण देखा परेको’ अस्पष्ट तथ्य दिँदै सरकारले यस्ता घटना तत्काल रोक्न माग गरेकी थिइन।
प्रहरी र डाक्टरहरुले हिँडडुल गर्दा सावधानी अपनाउन अनुराेध गरेका छन्।