बेझाड (पाल्पा) - रामपुर नगरपालिका–८ बस्ने मिर्गौलापीडित भीमबहादुर कुमालको उपचारमा प्रवासी नेपालीबाट आर्थिक सहयोग जुटेको छ। रामपुर जापान सम्पर्क मञ्चले ३१ वर्षीय कुमालको उपचारका लागि रु. ८८ हजार ८ सय ८८ रकम सहयोग गरेको हो।
यसैगरी कुमालको उपचारमा सहयोगस्वरूप रामपुर नगरपालिकाले रु. १२ हजार २ सय २३, रामपुर–८ का समाजसेवी नरनारायण अर्याल र रामपुर–५ का निराजन रेग्मीले पनि नगद रु. ५/५ हजार सहयोग प्रदान गरेका छन्। वडा नं. ८ का जनप्रतिनिधि तथा कर्मचारीबाट रु. १५ हजार नगद सहयोग गर्ने घोषणा गरिएको छ।
कुमाललाई सो रकम नगर प्रमुख रमणबहादुर थापाले हस्तान्तरण गर्दै सामान्य रोगको पनि ख्याल नगर्दा ठूलो रोगले आक्रमण गरेर सताउने हुँदा समय समयमा स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराएर निरोगी रहन सकिने बताए।
रामपुर जापान सम्पर्क मञ्चले सङ्कलन गरेको सो रकम प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालमार्फत पीडितलाई सहयोग गरिएको हो । आफूलाई उपचारमा सहयोग गर्नुहुने दातालाई धन्यवाद दिँदै जीवन रक्षाका लागि थप सहयोगको कुमालले याचना गरेका छन्। ७ वर्षसम्म वैदेशिक रोजगारीमा कार्यरत ३१ वर्षीय कुमाल दुवै मिर्गौलाले काम गर्न छाडेपछि ७ महिना अगाडि स्वदेश फर्किएका थिए।
उनले वैदेशिक रोजगारीका क्रममा सवारी चालकको काम गर्थे। कुमालका बुवा, आमा, श्रीमती, दुई छोरा छन्। सामान्य परिवारका कुमाललाई आफू नै बिरामी परेपछि परिवारको जीवन गुजारा चलाउन समस्या परेको छ। (रासस)