ताप्लेजुङ - समिट लघुवित्त वित्तीय संस्थाद्वारा ताप्लेजुङमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ४ सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन्।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने निम्न आयस्तरका परिवारलाई लक्षित गरी शनिबार सदरमुकाम फुङलिङमा आयोजना गरिएको शिविरमा ४ सय २२ जनाले निःशुल्क सेवा लिएका हुन्। शिविरमा आँखा र कानका ३ सय १२ जना साथै १ सय १० महिलाले स्त्रीरोगसम्बन्धी जाँच तथा उपचार सेवा लिएको आयोजक संस्थाका विभागीय प्रमुख भोजराज फुयालले जानकारी दिए।
उक्त शिविर दृष्टि आँखा अस्पताल र अञ्जली हस्पिटल प्रालि बिर्तामोडको प्राविधिक सहयोगमा आयोजना गरिएको हो। शिविरमा निःशुल्क स्वास्थ्य जाँच र भिडियो एक्स–रे गरिनुका साथै औषधि साथै चस्मा निःशुल्क वितरण गरिएको बताइएको छ।
ग्रामीण क्षेत्रमा रहेका पिछडिएका र निम्न आयस्तर भएकालाई सहयोग पुगोस् भन्ने उद्देश्यले यस प्रकारका शिविर सञ्चालन गर्दै आएको संस्थाका कार्यकारी प्रमुख देवेन्द्रबहादुर बस्नेतले बताए। (रासस)