काठमाडौँ - नारायण रिना मेमोरियल फाउन्डेसनले दुर्घटनामा परी दुवै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लैजाने भएको छ।
संयुक्त राज्य अमेरिकामा स्थापना भएको फाउन्डेसनले आइतबार पत्रकार सम्मेलन गरी दुवै हात गुमाएकी घिमिरेलाई उपचार लागि अमेरिका लैजान लागेको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष रिमा कटुवालले घिमिरेको उपचारका साथै जनावर उद्धार, विद्या आश्रम र बाजुराको विद्यालयलाई फाउन्डेसनले सहयोग गर्न लागेको जानकारी दिइन्।
आफ्ना स्व. बुवा नारायण केसी र स्व. बहिनी रिना केसीको सम्झनामा स्थापना गरेको उक्त फाउन्डेसनले हरेक व्यक्तिको सुख र दुःखमा काम गर्ने अध्यक्ष कटुवालले बताइन्। उनले भनिन्, “घिमिरेलाई अमेरिका लगेर उपचार गराउन आवश्यक प्रक्रिया पूरा भइसकेको छ।”
कार्यक्रममा अध्यक्ष कटुवालले जनावर उद्धार संस्थालाई १ हजार डलर सहयोग हस्तान्तरण गरेकी थिइन्। (रासस)