काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोक जिल्लाकाे रोशी गाउँपालिका–४ महादेवटारका १५ वर्षीय ‘बोनम्यारो’पीडित राजु रखालमगरको उपचारका लागि देश/विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकम उनका बुवा विष्णु रखालमगरलाई हस्तान्तरण गरिएको छ।
विगत २ वर्षदेखि ‘बोनम्यारो’ले काम गर्न छोडेपछि उनले काठमाडौँको सिभिल अस्पतालमा उपचार गराइरहेका छन्। उपचारकै क्रममा भएको रकम सबै सकिएपछि सहयोगका लागि उनका बुवा विष्णु रखालमगरको आग्रहमा स्थानीयबासीले सहयोग समिति गठन गरी रकम सङ्कलन अभियान शुरु गरेका थिए।
बनेपाको शिक्षा सदन माध्यमिक विद्यालयमा अध्यनरत राजुको अवस्था देखेर आफूहरूले देश–विदेशमा हात फैलाउँदा “अमेरिकामा रहेका नेपालीबाट रु. १ लाख २ हजार ३ सय ५० सङ्कलन भएको र बाँकी रकम अन्य संस्थाबाट प्राप्त भएको सहयोग समितिका अध्यक्ष निरध्वज लामाले बताए।
छोरा बचाउनका लागि भएको जायजेथा र घरखेत बेचेर उपचार गर्दै आइरहेको बुवा विष्णुकोे भनाइ थियो, उपचारका क्रममा हालसम्म लाखाैँ रकम खर्च भए पनि ‘बोनम्यारो’ नै प्रत्यारोपण गर्नुपर्ने र त्यसका लागि कसैको नमिलेको तर पछिल्लो पटक आफ्नै शरिर परीक्षण गर्दा आफ्नो ‘बोनम्यारो’ मिल्ने भएकाले यही जेठ १४ गते प्रत्यारोपण गर्ने तयारी भइरहेको छ।
“जेठ १४ गते बोनम्यारो प्रत्यारोपण गर्ने तयारी भइरहेको र खर्च धेरै लाग्ने भएकाले पिर परिरहेको अवस्थामा गरिएको सहयोगले आफ्नालागि ठूलो राहत मिलेको छ,” विष्णुले भने। प्रत्यारोपणका लागि लागि अझै रु. १८ लाखसम्म खर्च लाग्ने सिभिल अस्पतालले जनाएको जानकारी दिँदै उनले ‘बोनम्यारो’ त मिल्यो तर खर्च अपुग भएकाले सहयोगीसँग अझै हात फैलाउनुपरेको छ बताए। (रासस)