एजेन्सी – प्रायः घर–भान्सामा अगरबत्तीको प्रयोग धेरै हुने गर्छ। अगरबत्ती धार्मिक प्रयोजनका लागि मात्रै नभई शान्तिका लागि पनि महत्वपूर्ण मानिन्छ। अगरबत्तीको धुवाँले शान्तिको महसुस हुने भने पनि वैज्ञानिकहरुले यसको धुवाँले स्वास्थ्यमा धेरै बेफाइदा पुर्याउने निष्कर्ष निकालेका छन्।
सन् २०१५ मा चिनियाँ वैज्ञानिकहरुले गरेको एक अध्ययनले अगरबत्तीको धुवाँ स्वास्थ्यका लागि चुरोटकोभन्दा खतरनाक हुने निष्कर्ष निकालेका थिए। अगरबत्तीमा खतरनाक ‘केमिकल’ हुने र त्यसले चुरोटको धुँवाभन्दा स्वास्थ्यलाई धेरै हानी गर्ने अध्ययनको निष्कर्ष थियो।
अध्ययनले बन्द कोठामा फैलिएको अगरबत्तीको धुँवाले ‘डीएनए’मा समेत परिवर्तन गरिदिने बताएको थियो। अगरबत्तीको धुवाँले ‘मुटाजेनिक, साइटोटक्सिकजस्ता ‘विष’ उत्पादन गर्ने र त्यसले क्यान्सर तथा फोक्सोसम्बन्धी रोगहरु लाग्ने अध्ययनको निष्कर्ष छ।
‘अगरबत्तीको धुवाँ सिधै फोक्सोमा पुग्ने र त्यसले फोक्सोमा असर गर्ने गर्दछ’, स्प्रिङ्गर जोर्नल इन्भाइरोमेन्टल क्यामेस्ट्री लेटरमा उल्लेख गरिएको छ। अगरबत्तीमा ६४ प्रकारका हानिकारक कणहरु हुने र त्यसले श्वासप्रश्वासमा सिधै असर गर्ने अध्ययनले निष्कर्ष निकालेको छ।
(एजेन्सीको सहयाेगमा)