चिप्लेढुङ्गा - पोखराको मनिपाल शिक्षण अस्पतालमा इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्ससम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ।
अमेरिकाको न्यूरोक्रिटिकल केयर सोसाइटीले बनाएको इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्ससम्बन्धी पोखरामा पहिलोपटक कार्यशाला सम्पन्न भएको हो।
उक्त कार्यशालामा विभिन्न न्यूरोलोजिकल र न्यूरोसर्जिकल रोगसम्बन्धी समस्या र उक्त रोगको समाधानको विषयमा छलफल भएको कार्यक्रम संयोजक एवं मनिपाल शिक्षण अस्पताल न्यूरोसर्जरी विभागका प्रमुख डा. बालगोपाल कर्माचार्यले जानकारी दिए।
विशेषगरी टाउको र मस्तिष्कको चोटपटक, मेरुदण्डको चोटपटक, मस्तिष्क पक्षाघात, ब्रेन हेमरेज, छारेरोग, मस्तिष्क र मेरुदण्डको सङ्क्रमण तथा ट्युमरको लक्षण लिएर आएका बिरामीलाई शुरुको अवस्थामा तत्काल के कस्ता निदानका उपाय गर्ने र उपचार कसरी गर्ने भन्ने विषयमा कार्यशालामा छलफल भएको डा. कर्माचार्यले बताए ।
कार्यशालामा सहभागीलाई कार्यक्रम संयोजक डा. कर्माचार्यसहित महाराजगञ्ज शिक्षण अस्पताल काठमाडौँका न्यूरोक्रिटीकल विशेषज्ञ डा. जेन्टल सुन्दर श्रर, डा. प्रज्ञा आचार्य, न्यूरो अस्पताल बाँसबारी काठमाडौँका डा. मयुशबहादुर मुनान्कामी र डा. सुवास लोहनी, मनिपाल शिक्षण अस्पतालका डा. निकुञ्ज योगी र डा. हरि पौडेलले प्रशिक्षण दिएका थिए।
कार्यशालामा पोखराका विभिन्न अस्पतालको आकस्मिक कक्ष, आईसीयू र न्यूरो आईसीयूमा कार्यरत ८३ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको सहभागिता थियो। (रासस)