डोटी - यस जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयबासीले बाख्राको मासु खाँदा सो गाउँका १५ जना बिरामी परेका छन्। सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयबासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालिकादेखि ४० वर्षसम्मका स्थानीयबासी एकाएक बिरामी परेका हुन्।
बाख्राको मासु खाएर बिरामी परेकामध्ये १२ लाई दिपायलको पिपल्लास्थित शैलेश्वरी अस्पतलामा उपचारका लागि ल्याइएको छ भने बाँकी ३ जनाको स्थानीय मौवा स्वास्थ्यचौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले बताए। उनले भने, “बाख्राको मासु खाएर गम्भीर बिरामी भएकामध्ये १२ को दिपायलमा उपचार भइरहेको र बाँकी तीन सामान्य बिरामीको गाउँमै उपचार भइरहेको छ।”
इलाका प्रहरी कार्यालय दिपायलले दिएको जानकारीअनुसार बाख्राको मासु खाएर गम्भीर बिरामी परेकामा आदर्श गाउँपालिका–१ भेलगडाकी ९ वर्षीया सरस्वती खड्का, सोही वडाका २९ वर्षीय प्रेम खड्का, ३८ वर्षीय पदम खड्का, २६ वर्षीय नारायण खड्का, १३ वर्षीया पार्वती खड्का, ११ वर्षीया कल्पना खड्का, २७ वर्षीया इस्सरादेवी खड्का, ३ वर्षीया उर्मिला खड्का छन्।
त्यसैगरी अन्य बिरामी हुनेमा आदर्श गाउँपालिका–१ भेलगडाकी २ वर्षीया एलिसा खड्का, सोही वडाका ८ वर्षीय रोशन खड्का, ४० वर्षीया शान्तिदेवी खड्का, ७ वर्षीय रोहन खड्का छन् भने अन्य तीन ३२ वर्षीया मानी खड्का, १३ वर्षीय नारद खड्का र १२ वर्षीया अनिशा खड्काको गाउँमै उपचार भइरहेको छ।
स्थानीयबासीका अनुसार बिरामी परेकाले शनिबार गाउँमा बाख्रा काटी काँचो मासु खाएका कारण बिरामी परेका हुन्। उता शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक तथा निर्देशक आइजङ्ग कुँवरले मासु खाएर बिरामी परेकामध्ये केहीको अवस्था गम्भीर रहेको र केहीलाई क्रमिक रुपमा सुधार भइरहेको बताए।
“स्थानीयबासीले खाएको बाख्रामा केही न केही रोग भएको हुनुपर्छ,” उनले भने, “अहिले केहीको अवस्था सुधार भएको र साना केटाकेटीलाई भने अहिले पनि समस्या नै छ।”
बाख्राको मासु खाँदा किन यसरी गाउँले बिरामी परे, त्यो विषयमा खोजबिन र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए। (रासस)