हुम्ला - स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउने पहुँच नपुगेका महिलाको सहजताका लागि सिमकोट गाउँपालिकाको आयोजनामा जिल्ला अस्पतालका डा. टसी लामाको टोलीसहित स्वास्थ्यकर्मी गाउँमा
पुगेका छन्।
आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि जिल्लाका स्वास्थ्य संस्थामा गएर नियमित गर्भ परीक्षण गराउने महिलाको संख्यामा वृद्धि भए पनि अस्पतालमा गर्भ जाँच गराउन पहुँच नपुगेका महिलाको गर्भ परीक्षण गर्न गाउँमै पुगेको डा. लामाले जानकारी दिइन्।
जिल्ला अस्पतालसम्म गर्भ जाँच गर्ने पहुँच नपुगेका १६ महिलाको गर्भ जाँच गरिएको डाक्टर लामाले बताइन्। गर्भ जाँच गरिएका एक महिलाको गर्भमा समस्या देखिएको र बाँकी १५ को गर्भ सबै राम्रो देखिएको लामाले बताइन्।
सिमकोट गाउँपालिकाभित्रका आठवटै वडामा रहेका महिलाको घरमा नै पुगेर भिडियो एक्स–रे र गर्भ जाँच गरिने कार्यक्रम रहेको गाउँपालिका स्वास्थ्य शाखाका महिला स्वास्थ्यकर्मी निरुता खड्काले बताइन्।
पहिले पहिले गर्भ बसेपछि डर र लाज मानेर घरदेखि बाहिर ननिस्कने दुर्गम हुम्लाका महिला अहिले भने खुलैरै स्वास्थ्य संस्थासम्म पुग्ने गरेको डाक्टर लामाले बताइन्। गर्भ रहेदेखि नै परिवार र आफन्तका साथमा गर्भ परीक्षण गराउन जाने गरेको पाइएको उनको भनाइ थियो।
हिमाली जिल्लाका महिलाका लागि सरकारले स्वास्थ्य संस्थामा गएर चार पटक गर्भ परीक्षण गराएबापत रु. ८ सय र स्वास्थ्य संस्थामा नै सुत्केरी हुनेले खर्चबापत थप रु. ३ हजार पाउने गरेको डा. लामाले जानकारी दिइन्।
स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई निःशुल्क सुत्केरी सेवा प्रदान गरिँदै आएको पनि उनले बताइन्। यसबाट महिलालाई स्वास्थ्य संस्थामा नै गएर गर्भ परीक्षण गर्न उत्साह मिलेको छ। (रासस)