बैतडी - मौसममा आएको परिवर्तनसँगै बैतडीका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ। जिल्ला अस्पताल बैतडीमा दैनिक बिरामीको चाप बढ्दै गएको अस्पतालका स्वास्थ्य सहायक खेमराज भट्टले जानकारी दिए।
मौसमी ज्वरो, रुघाखोकी, झाडापखाला लगायतका बिरामीको सङ्ख्या बढेको उनले बताए। यी रोगबाट अन्यको तुलनामा बालबालिका बढी प्रभावित भएको उनले उल्लेख गरे। अस्पतालमा दैनिक १ सयको हाराहारीमा बिरामी आउने गरेको भट्टले बताए।
यस्तै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पनि दैनिक ७० को हाराहारीमा बिरामी आउने गरेको स्वास्थ्य सहायक मुकेशकान्त दयालले जानकारी दिए। पहिलाको तुलनामा आजभोलि ज्वरो, झाडापाखाला लगायतका बिरामी बढेको तर प्राथमिक स्वास्थ्य केन्द्रमा औषधिको अभाव रहेको उनले बताए।
मेलौली नगरपालिकाले औषधिका लागि बोलपत्र आह्वान गर्न नसक्दा औषधि अभाव भएको दयालले बताए। सरकारले प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भए पनि आधा औषधि पनि नभएको उनी बताउँछन्।
केन्द्रमा औषधि नहुँदा बिरामी मर्कामा परेका छन् । मौसम परिवर्तन भएसँगै स्वास्थ्यमा विभिन्न समस्या आउनसक्ने भएकाले खानपिनमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन्। यो समयमा प्रशस्त मात्रामा पानी पिउनुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ। (रासस)