काठमाडौँ – नेपाल प्रहरी अस्पताल महारागन्जको ३५औं वार्षिकोत्सवको अवसरमा विशिष्ट व्यक्तिको उपचारको लागि नवनिर्मित भीआईपी कक्ष तथा शिशु स्याहार केन्द्रको उद्घाटन गरिएको छ। बिहीबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भीआईपी कक्ष तथा शिशु स्याहार केन्द्रको उद्घाटन गरे।
साथै उनले पूर्व प्रहरी तथा बहालवाला प्रहरी र परिवारका लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको १ करोड ५० लाख रुपैयाँ अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापालाई हस्तान्तरण समेत गरे।
सो अवसरमा अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘आरोग्य दर्पण २०७५’ को समेत खनालले लोकार्पण गरेका थिए। खनालले अस्पतालले सेवा प्रवाहमा गुणस्तरीयता अभिवृद्धि गरेको सेवाग्राहीबाट सुन्न पाउँदा गौरवान्वित भएको उल्लेख गर्दै सेवाग्राहीको सुविधाका लागि अस्पताललाई थप सुविधा सम्पन्न बनाउन आफू कटिबद्ध रहेको बताए।
प्रहरी अस्पताल नेपाल सरकारको पनि अस्पताल भएकोले यसले अन्य सरकारी अस्पतालले सरह सेवा सुविधा पाउने वातावरण बनाउन समेत संगठन तल्लीन रहेको समेत उनले बताए। समारोहमा अस्पतालको सेवा प्रवाहमा सहयोग र्पुयाउने विभिन्न व्यक्तिलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने उत्कृष्ट विभाग, उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको छ।
३५औं वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष प्रमिला खनालले अस्पतालका लागि १ सय थान तन्ना र सिरानीको खोल अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापालाई हस्तान्तरण गरिन्।