काठमाडौँ - प्रायः सबैले मकैमा हुने जुँगालाई त्यत्तिकै फालिरहेका हुन्छन। पोलेर खाँदा त मकैको जुँगा जलेर जान्छ नै उसिनेर खाँदा पनि हामी दाना खान्छौँ तर जुँगा फालिदिन्छौँ।
मकैको जुँगाको फाइदाबारे जानकारी नहुँदा त्यसो गर्ने गरिएको छ। अब तपाई मकै खानुहुन्छ भने जुँगालाई सुरक्षित राख्नुहोला। किन भने मकैको जुँगा औषधि पनि हो।
मकैको जुँगामा सयौं प्रकारका औषधीय गुणहरु रहेको विभिन्न अध्ययनहरुले पनि देखाएकाे छ। मकै जोन सिन्धुपाल्चोकमा कार्यरत प्रकाश पौडेलले पनि मकैको जुँगाले विभिन्न रोग निको पार्ने बताउँछन्।
उनी भन्छन्, ‘विषेशगरी ढल्कदों उमेरका लोग्ने मान्छेहरुको प्रोस्टेटलाई ठीक गर्नमा मकैको जुँगाले चमत्कारिक नतिजा दिन्छ।’ मकैको जुँगाबाट ब्लड प्रेसर, बिर्सिने, सोच्न नसक्ने, सुगर, मोटोपन, पिसाव कम हुने लगायतका रोगको औषधि तयार गर्न प्रयोग हुने गरेको उनले बताए।
अमेरिका, टर्की, फ्रान्स लगायतका देशमा मकैका जुँगाकाे धुलो प्रतिकिलो पाँच हजार अमेरीकी डलरसम्ममा विक्री हुने गरेको बताइन्छ। यसलाइ सुकाएर धुलो पारी चियाको रुपमा बेच्नको लागि काठमाडाैँमा पनि रेष्टुरेन्टहरु खुलेका छन्।