काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको पाँचौँ शिखर सम्मेलन बुधबारदेखि काठमाडौँमा शुरु हुँदैछ। ‘सङ्घीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ भन्ने नाराका साथ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको पाँचौँ शिखर सम्मेलन शुरु हुन लागेको हो।
परिषद्का अध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाले सम्मेलनको तयारी पूरा भएको र नेपालसहित भारत, चीन, जर्मनी र अमेरिकाका स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा कार्यरत झण्डै एकहजार वैज्ञानिकको सम्मेलनमा सहभागिता रहने जानकारी दिए।
३३ कार्यपत्र प्रस्तुत गरिने सम्मेलनमा जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल उत्कृष्ट कृति पुरस्कार, उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार र मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार वितरण गरिने छ।
सम्मेलनमा स्वास्थ्य समता र विकास, सामाजिक स्वास्थ्य बीमा, नसर्ने रोग, मातृ स्वास्थ्य, बाल स्वास्थ्य र किशोरकिशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य लगायतका विषयमा छलफल हुने अध्यक्ष झाले बताए। परिषद्ले आफ्नो स्थापनाको दिनको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यासम्बन्धी वैज्ञानिक सम्मेलन गर्दै आएको छ।