नारायण ढुङ्गाना, काठमाडौँ - बाराको फेटा गाउँपालिका– ६ का ३३ वर्षीय मुनाफ अन्सारी आइतबार साँझ सपरिवार बरण्डामा बसेर सुखदुःखका कुरा साट्दै थिए। साँझको अन्दाजी ७ः३० बजेको समय थियो। एक्कासि असिनापानी पर्यो। एकैछिनमा नसोचेको हावाहुरी (हुण्डरी) आयो।
“पूरै जमिन नै घुमेझैँ गरी भुँमरी पर्यो, गाउँ नै उडाउन थाल्यो, घर भकाभक ढल्न थाल्यो,” हिजोको घटना सुनाउँदै अन्सारीले भने, “अनि अल्लाहको नाम लिन थाल्यौँ।” यत्तिकैमा उनको तीनकोठे घरको टायल पनि खसेर सबैलाई थिचेको उनले बताए।
सबैको जीवन एकै ठाउँमा गएझैँ भएको अन्सारीले सुनाए। तर, आफू सामान्य चोट लागे पनि जोगिएकाले खोतलखातल गरेर अन्य सदस्यलाई निकालेको काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा कुरा गर्दै अन्सारीले बताए। आफू सामान्य घाइते भए पनि बुवा गम्भीर घाइते भएकाले उपचारका लागि अन्य सदस्यलाई छाडेर उनी काठमाडौँ आएका हुन्।
“सबै पुरिएका थिए, मैले एक एक गर्दै भत्केको छानो पन्छाएर निकालेँ,” कहालीलाग्दो घटना सम्झँदै अन्सारीले मलीन स्वरमा सुनाए। उनलाई सामान्य घाउचोट मात्रै लागेकाले पनि परिवारका सदस्यलाई निकालेर मर्नबाट भने जोगाएका थिए।
परिवारका अन्य सदस्यलाई स्थानीय अस्पतालमा उपचाररत छाडेर उनी गम्भीर घाइते भएका ५९ वर्षीय बुवा मोबारक मियाँ अन्सारीलाई लिएर उपचारका लागि यहाँको शिक्षण अस्पतालमा आएका हुन्। उनीहरूलाई नेपाली सेनाको हेलिकाेप्टरले काठमाडौँ ल्याएको हो।
बुवाको बायाँ पिँडुल्लामा घरको छानो खसेर गम्भीर घाइते बनाएको छ। हावाहुरीको घटनाले अहिले पनि उनलाई बेलाबेलामा झसङ, झसङ पार्छ। तर पनि बुवाको उपचारका लागि उनी काठमाडौँमा रहेका केही स्थानीय र आफन्तको सहयोगमा खटिइरहेका छन्।
उनको मोबाइलमा तारन्तार घरपरिवारबाट फोनसमेत आइरहेको छ। बुवाको अवस्थाबारेमा उताबाट जानकारी मागिन्छ भने यताबाट अन्य परिवारका सदस्यको स्वास्थ्य अवस्थाबारे उनले फोनबाटै जानकारी लिइरहेका छन्।
कुराकानी हुँदै गर्दा उनलाई एउटा फोन आयो। “खतम बा ! गोड काटेके परै,” आफ्नै भाषामा मलीन स्वरमा अन्सारीले जवाफ फर्काए। त्यसबेला उनले फोनमा धेरै कुरा गर्न सकेनन्। गला अड्कियो। फोन राखे।
अन्सारी परिवारका सबै घाइते
आफ्नो पिठ्यूँमा लागको चोट देखाउँदै अन्सारीले सबै परिवार घाइते भएको बताए। बगलको एक घरका ३ जना आँखै अगाडि बितेको उनले बताए। आफू अली कम घाइते भएकाले अन्यलाई अस्पताल लैजानेदेखि बुवालाई काठमाडौँमा उपचारका लागिसमेत आफैँ खटिएका छन्।
उनका अनुसार बुवा मोवारकसहित ५५ वर्षीया आमा झोहरा, २७ वर्षीया श्रीमती मेरिना, २३ वर्षीय बुहारी राफा (खुट्टा भाँचिएको), २ वर्षकी छोरी सहना, ७ वर्षीय छोरा फराहान अन्सारी, डेढ वर्षका भतिज फराहाद अन्सारी र १५ वर्षकी छोरी अर्बुन घाइते भएका छन्। बुवालाई वीरगञ्जस्थित हेल्थ केयर सेन्टरमा उपचार नहुने भएपछि सेनाको हेलिकाेप्टरमा काठमाडौँ ल्याइएको हो।
पटेल परिवारको पनि पीडा
दाहिने घुँडामा गम्भीर घाइते भएका सोही गाउँका ३६ वर्षीय त्रिचन पटेलको खुट्टासमेत भाँचिएको छ। हावाहुरीका कारण त्रिचनका दाइ ४० वर्षीय ताराचन, छोरा निखिल, विकास, छोरी पूजा र पूजाकी २० दिने शिशु अनुषालाई समेत चोट लागेको छ। उनीहरूको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेकाले गम्भीर भएका त्रिचनलाई भने सेनाको हेलिकाेप्टरमा काठमाडौँस्थित शिक्षण अस्पतालमा ल्याइएको छ।
कहालीलाग्दो घटना आफूले सम्झँदा पनि डर लाग्ने उनको भनाइ थियो। हिजाे साँझ नै स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र प्रवक्ता महेन्द्र श्रेष्ठले घाइतेको अवस्थाबारे जानकारी लिएका थिए। दुई जना गम्भीर रहेको र अन्यको अवस्था अलि राम्रो रहेको श्रेष्ठले बताए।
शिक्षण अस्पतालमा अहिले बारा फेटा गाउँपालिकाका ३६ वर्षीय त्रिचन पटेल, ५९ वर्षीय मोबारक महमद मियाँसहित ५० वर्षीय सुरेश पटेल, ३ वर्षीय अमन पटेल, ३५ वर्षीया गीतादेवी पटेल, ३३ वर्षीय मुना अन्सारी र ९ वर्षीया सलिना खातुनको उपचार भइरहेको छ।