काठमाडौँ – नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ। हेम्स अस्पतालले आज (आइतबार) स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा नेता सिटौलाको उपचारमा सुधार हुँदै आएको जनाएको छ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. भाष्करराज पन्त र आईसीयू इञ्चार्ज डा. सबिन कोइरालाद्वारा जारी विज्ञप्तिमा उनको अवस्थामा क्रमिक सुधार भइरहेको उल्लेख छ।
उनलाई अहिले पनि सघन उपचार कक्ष (आईसीयू)मै राखेर उपचार गराइएको विज्ञप्तिमा जनाइएको छ। शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि नेता सिटौला अस्पताल भर्ना भएका थिए। उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचापसमेत घटेकाले समस्या उत्पन्न भएको चिकित्सकहरूले जानकारी दिएका छन्। उनलाई रगतको मात्रा बढाउन शुक्रबार र शनिबार रगतसमेत दिइएको थियो।
नेता सिटौलालाई धेरै रगत आवश्यक पर्ने भएपछि उनका शुभेच्छुकहरूले आज अस्पताल परिसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेका छन्। ‘दुःख बाँडौँ, सुख साटौँ’ भन्दै यो अभियानमा स्वतःस्फूर्त कांग्रेस तथा पार्टीका भ्रातृ सङ्गठनका कार्यकर्ताहरूले रक्तदान गरिरहेको नेपाल विद्यार्थी सङ्घका नेता युवराज पाण्डेले जानकारी दिए।
रक्तदान गर्न नेविसङ्घ, नेपाल महिला सङ्घ, नेपाल तरुण दल, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घलगायत प्रतिनिधि, सञ्चारकर्मीसहित अस्पताल पुगेको उनले बताए।
नेविसङ्घका अर्का नेता सुशील भट्टका अनुसार दिउँसो १२ बजेसम्म १ सय ७ जनाले रक्तदान गरेका छन्। रक्तदानका लागि आउने शुभेच्छुक बढ्दै गएकाले अझै केही समय कार्यक्रम जारी रहने उनले जानकारी दिए। (रासस)