मङ्गलबारे – इलामको देउमाई नगरपालिकाको चमैतामा स्थानीयबासीलाई एम्बुलेन्स प्रदान गरिएको छ। ‘चमैता सरोकार समाज’को संयोजनमा देश तथा विदेशमा रहेका चमैताबासीले आर्थिक सहयोग सङ्कलन गरी उक्त एम्बुलेन्स खरिद गरेका हुन्।
चमैता सराेकार समाजको अगुवाइमा १ वर्षदेखि फेसबुक, ट्विटर, फोनमार्फत देश तथा विदेशमा रहेका चमैताबासीबाट रु. १४ लाख ५० हजार सङ्कलन गरी एम्बुलेन्स खरिद गरिएको समाजका सचिव कमल श्रेष्ठले जानकारी दिए।
सचिव श्रेष्ठले भने, “रु. १० लाखमा एम्बुलेन्स खरिद गरिएको र बाँकी रकमले समाजको भवन निर्माण गर्ने योजना छ।”
देउमाई नगरपालिका प्रमुख सूर्यप्रसाद पोखरेलले सो एम्बुलेन्स सेवाको उद्घाटन गरेका थिए।