काठमाडौँ - दशौँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन यही चैत ११ देखि १३ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ। राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र निक साइमन्स इन्ष्टिच्यूटद्वारा हरेक वर्ष आयोजना हुने सो सम्मेलनमा सातै प्रदेशबाट १ सय २५ जना स्वास्थ्यकर्मीको सहभागिता रहनेछ।
ग्रामीण क्षेत्रका प्रभाव भइराखेका स्वास्थ्य सेवाका अवस्था, चुनौती र समाधानका उपायबारे छलफल र तालिम प्रदान गर्ने उद्देश्यले आयोजना गरिने सो सम्मेलनमा निक साइमन्स पुरस्कार २०१८ समेत प्रदान गरिनेछ।
इन्ष्टिच्यूटका प्रशासन संयोजक नवराज श्रेष्ठका अनुसार सम्मेलनमा ग्रामीण क्षेत्रका कार्यरत चिकित्सक, नर्स, स्वयंसेविकाले आफ्ना उत्कृष्ट स्वास्थ्य सफलतालाई प्रस्तुत समेत गर्नेछन्।
जिम र मेरिलिन्स साइमन्सले आफ्ना दिवंगत छोरा निक साइमन्सको सम्झनामा स्थापना गरेको सो इन्ष्टिच्यूटले सन् २००८ देखि ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन आयोजना गर्दै आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत सो संस्थाले हाल वर्षेनि रु. ३५ देखि ४० करोड नेपालको स्वास्थ्य सेवा सुधारका लागि खर्च गर्दै आएको छ।
‘अस्पताल सहयोग विकास कार्यक्रम’मार्फत ग्रामीण क्षेत्रका स्वास्थ्यका उपकरण, स्वास्थ्यकर्मी, भौतिक पूर्वाधार, तालिमलगायत गुणस्तरीय स्वास्थ्य सेवा सुधारका लागि सहयोग गर्दै आएको उनले जानकारी दिए।
सो संस्थाले विभिन्न १८ जिल्लामा कार्यक्रम गर्दै आएको र आगामी दिनमा २५ जिल्लामा योजना सञ्चालन गर्ने जनाएको छ। ग्रामीण क्षेत्रमा रही स्वास्थ्य सेवा प्रवाह गर्दा आइपर्ने चुनौतीलाई समाधान गर्न सम्मेलन महत्त्वपूर्ण मानिँदै आएको छ। सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गर्नुहुने छ। (रासस)