भरत केसी, बुटवल - प्रधानमन्त्री केपी शर्मा ओली जिल्लामा शुरु हुन गइरहेका दुई ठूला योजना प्रारम्भ गर्न भाेलि (शुक्रबार) रूपन्देही आउने भएका छन्।
रूपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय उद्घाटन र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यास गर्न प्रधानमन्त्री ओली शुक्रबार बिहान यहाँ आउन लागेका हुन्।
प्रधानमन्त्री ओलीबाट शुक्रबार बिहान ११ बजे तिलोत्तमा नगरपालिका वडा नं. १ स्थित नयाँ मिलमा मेडिकल कलेजको कार्यालयको उद्घाटन हुने कार्यक्रम रहेको कार्यालय प्रमुख मानबहादुर घिमिरेले जानकारी दिए।
यस्तै शुक्रबार नै प्रधानमन्त्री ओलीले बुटवल–नारायणगढ सडक खण्डको स्तरोन्नति गर्ने आयोजनाअन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. ८ स्थित बुटवल मण्डपनजिकै अपराह्न १२ः३० मा शिलान्यास गर्ने कार्यक्रम रहेको छ। यी दुवै आयोजना जिल्लामा ल्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको विशेष योगदान रहेको छ।
रूपन्देही क्षेत्र नं. ३ का सांसद पौडेल यसअघि अर्थमन्त्री हुँदा सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमार्फत रूपन्देहीमा सरकारीस्तरको मेडिकल कलेज स्थापना गर्ने योजना अघि सारेका थिए। यस्तै बुटवल–नारायणगढ सडकखण्ड पनि नेता पौडेलकै पहलमा स्तरोन्नतिको सम्भाव्यता अध्ययन भएको हो।
प्रधानमन्त्रीले शुक्रबार शिलान्यास गर्ने उक्त आयोजनाअन्तर्गत बुटवलदेखि नारायणगढसम्मको १ सय १३ किलोमिटर सडकको स्तरोन्नति आगामी साढे ३ वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको आयोजनाको पश्चिम खण्ड प्रमुख इञ्जिनीयर सुरेश न्यौपानेले जानकारी दिए।
उक्त सडक विस्तार भएपछि यात्रा दूरी अहिलेकोबाट झन्डै आधा घट्ने छ। बुटवलबाट नारायणगढसम्मको दूरी पार गर्न अहिले करिब ३ घन्टा लाग्छ। उक्त सडकको स्तरोन्नति भई ४ लेन बनेपछि कम्तीमा १ घन्टा ३० देखि १ घन्टा ५० मिनेटभित्रै छिचोल्न सकिनेछ।
एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण ८५ प्रतिशत र नेपाल सरकारको १५ प्रतिशत लगानीमा झन्डै रु. १७ अर्बको लागतमा सडक स्तरोन्नतिको काम हुनेछ। यसका लागि सडक विभाग अन्तर्गतको एडीबी सडक निर्देशनालयले सडक स्तरोन्नतिका लागि कम रकम कबोल गर्ने चाइना स्टेट कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएको छ।
बुटवल–नारायणगढ सडक स्तरोन्नतिको काम दुई खण्डमा हुनेछ। पहिलो खण्डमा पूर्वी नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दोस्रोमा दाउन्नेदेखि बुटवल राजमार्ग चौराहासम्मको ४८ किलोमिटरको काम हुनेछ।
पहिलो खण्डका लागि निर्माण कम्पनीले रु. ९ अर्ब १३ करोड रुपैयाँ र दोस्रो खण्डका लागि पनि सोही कम्पनीले रु. ७ अर्ब ८६ करोड रुपैयाँको आर्थिक प्रस्ताव गरेअनुसार सम्झौता सम्पन्न भएको इञ्जिनीयर न्यौपानेले बताए।
सम्झौता मुताबिक बुटवल–नारायणगढ सडकखण्डमा मर्मत सम्भारको काम ४ वर्षसम्म ठेक्का लिएको कम्पनीले नै गर्नेछ। यसअघि सडक निर्माण गरेको १ वर्षसम्म मात्रै सडकको मर्मत सम्भार ठेक्का लिएको कम्पनीले गर्ने प्रचलन थियो।
उक्त सडक खण्डलाई २ लेनबाट विस्तार गरेर ४ लेनको बनाइनेछ। सडकको २/२ लेनको बीचको भाग हरियाली बनाउने गरी योजनाको नक्साङ्कन गरिएको छ। ३ मिटरको यो भागमा बिरुवा रोपिनेछ। विस्तारित सडकको दुईतर्फ ७/७ मिटरको हुनेछ। एउटा लेन ३.५ मिटरको हुनेछ।
उक्त सडकको झन्डै २८ किलोमिटर क्षेत्रमा मानव बस्ती रहेका ठाउँहरूमा सार्वजनिक सवारीलाई यात्रु ओराल्न र चढाउन दिने गरी नक्साङ्कन गरिएको छ।
तर, यसै सडकको दाउन्नेको उकालो र ओरालो रहेको झन्डै १२ किलोमिटर सडकखण्ड भने ३ लेनको मात्रै हुनेछ। तीनमध्ये उकालोतर्फ २ लेनको हुनेछ भने ओरालोतर्फ जाने सवारीले एक लेन मात्रै प्रयोग गर्न पाउने छन्।
हरेक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज राख्ने सरकारको नीतिअनुसार तिलोत्तमामा प्रदेश ५ स्तरीय मेडिकल कलेज स्थापना हुन लागेको हो।
तिलोत्तमा नगरपालिका वडा नं. १ नयाँ मिलदेखि झन्डै ५ सय मिटरपूर्व प्यारामाउन्ट चोकमा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भएको छ।
प्रधानमन्त्री आयोजना उद्घाटन गर्न आफ्नो नगरमा आउने भएका कारण स्वागतार्थ तिलोत्तमा नगरवासीले भव्य तयारी गरेका छन्। तिलोत्तमा नगरपालिकाले आयोजना कार्यालयसँग समन्वय गरेर तयारीका विभिन्न काम सम्पन्न गरेको नगर प्रमुख वासुदेव घिमिरेले बताए।
आयोजनाको उद्घाटन कार्यक्रमका लागि जनप्रतिनिधि, स्थानीय क्लब, आमा समूह र टोल विकास समितिहरू खटिएका छन्। वडा नं. १ का वडाध्यक्ष तामानाथ पाण्डेयले भने, “स्वास्थ्य सुविधा आफ्नै गाउँठाउँमा पाइँदैछ। अत्यन्त खुशी लागेको छ।”
प्रस्तावित मेडिकल कलेजका लागि वडा नं. १ र ८ को वन क्षेत्रअन्तर्गतको झन्डै २ सय विगाह जमिनको स्वामित्व हस्तान्तरण भइसकेको छ। हाल मासिक ३५ हजार रुपैयाँ भाडा तिर्ने गरी स्थापना भएको कार्यालयमा आयोजना प्रमुखसहित उपसचिव, शाखा अधिकृत, इञ्जिनीयर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित ७ कर्मचारीको दरबन्दी रहेको उपसचिव मानबहादुर घिमिरेले बताए।
आयोजनाले मेडिकल कलेज स्थापनाका लागि ईआइए, गुरुयोजना निर्माण, जग्गा प्राप्ति लगायतका काम गर्नेछ। २ सय विगाह जमिनमा कलेज निर्माणमा करिब रु. १० अर्ब खर्च लाग्ने पूर्वानुमान गरिएको छ। कम्तीमा ३ सय शय्या रहने यस अस्पताललाई ३ वर्षसम्म सञ्चालन ल्याएपछि मात्रै एमबीबीएस तहका विद्यार्थीको भर्ना लिइनेछ।