ओखलढुङ्गा - ओखलढुङ्गा सामुदायिक अस्पताल आसपासको क्षेत्रमा मदिरा निषेध गरिएको छ। लालुपाते क्लब र जिल्ला प्रहरी कार्यालयको पहलमा केही वर्षदेखि अस्पतालको ५ सय मिटर क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाइएको हो।
स्थानीय होटल, पसल र मुख्य आवतजावत हुने क्षेत्रमा यहाँ मदिरा पाइँदैन, यो मदिरा निषेधित क्षेत्र हो भनेर लेखिएका बोर्ड र ब्यानर राखिएका छन्। त्यहाँ मदिरा विक्रीवितरण र सेवन गरे कारवाही हुन्छ।
करिब ५ वर्षअघि नै यो अभियान थालिएको भए पनि प्रभावकारी हुन सकेको थिएन। पछिल्लो समय जिल्ला प्रहरी कार्यालयले क्लबको समन्वयमा सक्रियता बढाएर अनुगमन गर्न थालेपछि सोब्रुमा मदिरा निषेध अभियान प्रभावकारी बनेको छ।
क्लबका पदाधिकारी, जनप्रतिनिधिसहितको उपस्थितिमा सोब्रु क्षेत्रका व्यवसायी र अगुवासँग छलफल गरेर कडाइका साथ नियम लागू गराइएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले बताए।
मदिराका कारण हिंसा र गैरकानूनी गतिविधि बढाएकाले नियन्त्रण अभियानमा प्रहरी जुटेको मल्लले बताए। ‘‘जिल्लामा हुने अधिकांश घटना मदिराकै कारण सिर्जना भएको पाइयो,’’ उनले भने, “त्यो अवस्था सुधारका लागि हामी प्रयत्न गरिरहेका छौँ।”
प्रहरीले गाउँगाउँमा समुदाय प्रहरी साझेदारी कार्यक्रम गरेर मदिराको उत्पादन, विक्रीवितरण र सेवनमा ध्यान दिन सुझाव दिने गरेको छ।
सिद्धिचरण नगरपालिका–११ स्थित सोब्रुमा ८ वर्षदेखि ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनको सहयोगमा लालुपाते क्लब सञ्चालनमा आएको हो। कुलतमा फसेर उन्मुक्ति पाएका १६ जना मिलेर शुरु गरेको लालुपातेले अहिलेसम्म १ सय ७५ भन्दा बढीको उपचार गरेको छ।
उपचार गराइएकामध्ये १ सय ५० भन्दा बढी पूर्ण रूपमा कुलतमुक्त भएको क्लबका अध्यक्ष तिलक राईले बताए। क्लबले विभिन्न सङ्घ, संस्था, विद्यालयसँग सहकार्य गरी गाउँगाउँमा आफ्नो कार्यक्रम विस्तार गरिरहेको छ। (रासस)