पर्सा - वीरगञ्ज महानगरपालिकामा रहेको नारायणी उपक्षेत्रीय अस्पताललाई स्तरोन्नति गरी पाँच सय शय्याकाे बनाइएकाे छ। यसअघि सरकारको २ सय र अस्पताल विकास समितिकाे एक सय शय्या मात्र सञ्चालन मात्र सञ्चालनमा थियाे।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवको विशेष पहलमा सरकारले अस्पतालका लागि शय्या थप गरेकाे हाे। ‘काठमाडौँको वीर अस्पतालसँगै ६० वर्षअगाडि स्थापना भएको नारायणी अस्पतालको विकासमा कसैले चासो दिएका थिएनन्। मेरो पहल र आग्रहमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वाथ्यमन्त्री उपेन्द्र यादवले स्तरोन्नति गर्ने निर्णय गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु,’ सांसद यादवले भने।
मेडिकल कलेज बनाउन टेण्डर हुँदै
३ सयबाट ५ सय शय्यामा स्तरोन्नति भएको नारायणी अस्पताललाई मेडिकल बनाउनका लागि तयारी शुरु भएको छ। त्यसका लागि तीन दिनदेखि इञ्जिनियरहरुले माटो परिक्षणको काम गरिरहेका छन्।
सांसद यावदले भने, ‘नारायणी अस्पताललाई मेडिकल कलेज बनाउनका लागि अर्थ मन्त्रालयबाट ७० करोड रुपैयाँ निकासा भएर शहरी विकाश मन्त्रालयमा गइसकेको छ। अब केही दिनमै टेण्डर खुल्दैछ।’
यादवले मेडिकल कलेज बनाउनका लागि जग्गा प्राप्तिको प्रक्रिया तत्काल टुङग्याइदिन पनि पर्साका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे। यादवले तीन वर्षमा नारायणी अस्पताललाई देशकै नमूना अस्पतालको रुपमा विकास गरिने दावी गरे। त्यसमा प्रधानमन्त्री र स्वाथ्यमन्त्री सकारात्मक रहेको उनले बताए।