काठमाडौँ - भूकम्पले भत्काएका शिक्षाका संरचना पुनःनिर्माणका लागि भारतीय राजदूतावासले दी सेन्ट्रल विल्डिङ रिसर्च इन्स्टिच्यूट (सीबीआरआई)लाई परिचालन गरेको छ।
आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै राजदूतावासले पुनःनिर्माणमा सीबीआरआईलाई परिचालन गर्नका लागि सम्झौतासमेत गरेको छ। सम्झौतामा भारत सरकारको तर्फबाट काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा.अजय कुमार तथा सीबीआरआईका तर्फबाट डा. पूर्णिमा परिदाले हस्ताक्षण गरे।
सम्झौता अनुसार सीबीआरआईले गोर्खा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप तथा सिन्धुपाल्चोक गरी सात जिल्लाका ७० उच्च माद्यमिक विद्यालयका साथै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय तथा पाटनस्थित राष्ट्रिय पुस्तकालयको पुनर्निर्माणका लागि डिजाइन र परियोजना व्यवस्थापनमा परामर्श सेवा प्रदान गर्नेछ।
सीबीआरआईले नेपाल सरकारको विपद् उत्थानशील पुनर्निर्माण निर्देशिका अनुरुप शैक्षिक संरचनाको पुनर्निर्माण/रेट्रोफिटिङ गर्ने शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईसँग मिलेर काम गर्नेछ।
हस्ताक्षर कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी सहभागी थिए।



तस्बिरहरु: मुकुन्द कालिकोटे।