बैतडी – रामलीला महोत्सवबाट प्राप्त रकमले बैतडीको एक विद्यालयमा प्राविधिक शिक्षाको पढाइ शुरु गरेको छ।
दशरथचन्द नगरपालिका–१ गुरुखोलास्थित मणिलेक माविले महोत्सवबाट प्राप्त रकमले तीनवर्षे डिप्लोमाअन्तर्गत आइएससी एजी बाली विज्ञानको पढाइ शुरु गरेको हो।
ग्रामीण क्षेत्रका बालबालिकाको प्राविधिक शिक्षामा पहुँच पुर्याउने उद्देश्यले बाली विज्ञानको पढाइ शुरु गरिएको सो विद्यालयले जनाएको छ।
प्राविधिक शिक्षालय स्थापनाका लागि सहयोग सङ्कलन गर्ने उद्देश्ले विद्यालयले गत असोज १५ गतेदेखि विद्यालय प्राङ्गणमा महारुद्र रामलीला महोत्सव आयोजना गरेको थियो। उक्त महोत्सवबाट रु. १८ लाख सङ्कलन भएको मणिलेक मावि व्यवस्थापन समितिका अध्यक्ष तथा दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिए।
“गरिब, आर्थिक अवस्था कमजोर तथा जिल्लाबाहिर गएर पढ्न नसक्ने विद्यार्थीको सहजताका लागि जिल्लामै प्राविधिक शिक्षा शुरु गरेका हौँ,” उनले भने, “जिल्लामै न्यूनतम शुल्कमा पढाइ सञ्चालनमा ल्याएका छौँ।” प्राविधिक शिक्षा सञ्चालन गर्न विद्यालयसँग आर्थिक स्रोत नहुँदा रामलीला महोत्सव आयोजना गरी आर्थिक सङ्कलन गरिएको उनले बताए।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीइभीटीको सम्बन्धनमा यसै वर्षदेखि बाली विज्ञान विषयको पढाइ शुरु भएको विद्यालयका प्रधानाध्यापक त्रिभुवनसिंह रावलले बताए। चालू शैक्षिक सत्रमा ४० जना विद्यार्थीको कोटा रहेको छ। उनले भने, “पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि प्राविधिक शिक्षाको आकर्षण बढेको छ।”
यस वर्ष सीटीइभीटीले दिएको सम्बन्धनमा मणिलेक मावि प्रदेश नं. ७ को पहिलो नम्बरमा रहेको थियो भने बैतडीकै पहिलो छनोटमा रहेको थियो। गाउँमै प्राविधिक शिक्षा सञ्चालनमा आएपछि आफूहरूलाई निकै सजिलो भएको स्थानीय अभिभावक गङ्गादत्त भट्टले जानकारी दिए।
“गाउँकै विद्यालयमा प्राविधिक शिक्षा पठनपाठन गर्न पाउने कुराले निकै खुशी छन्,” उनले भने, “जिल्लाका धेरै विद्यालयमा अहिले प्राविधिक शिक्षाको पठनपाठन भइरहेकाले ग्रामीण क्षेत्रका विद्यार्थीको प्राविधिक शिक्षामा पहुँच बढेको छ।”
यसैबीच मणिलेक मावि गुरुखोलामा प्राविधिक शिक्षा सञ्चालनका लागि दशरथचन्द नगरपालिका वडा नं. १ ले रु. १५ लाख अनुदान सहयोग गरेको छ। विद्यालयमा राखिएका निजी स्रोतका तीन शिक्षकको तलब तथा अन्य प्रयोगात्मक क्रियाकलापका लागि उक्त रकम सहयोग गरेको हो। (रासस)