काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ यारू पुल नजिकै बगर क्षेत्रमा ठूलो सुक्खा पहिरो खसेको छ।
आज बिहान करिब नौ बजे पहिरो खसेको हो।पहिरो खसेको क्षेत्रमा यसअघि नै बाटो बन्द रहेकाले मानवीय तथा भौतिक क्षति हुनबाट जोगिएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्माले जानकारी दिएका छन्।पहिरोबारे थप विवरण संकलन गर्न प्रहरी टोली घटनास्थल पुगेको उनले बताए।
पहिरोका कारण केही ढुंगा र माटो बूढीगण्डकी नदीमा खसे पनि नदी थुनिने वा बहाव अवरुद्ध हुने अवस्था नरहेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले स्पष्ट पारेका छन्।