काठमाडाैँ । हरिबोधिनी एकादशीको अवसरमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित ऐतिहासिक लड्केश्वर महादेव मन्दिरमा भव्य धार्मिक मेला लागेको छ। करिब ३५० वर्ष पुरानो इतिहास बोकेको यस मेलामा काभ्रेसहित आसपासका विभिन्न जिल्लाबाट भक्तजनहरू दर्शन तथा पूजाआजाका लागि पुगेका छन्।
गुफाभित्र अवस्थित लड्केश्वर महादेवको दर्शन गर्न हरेक वर्ष ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका छन्। मन्दिर परिसरमा निर्माण गरिएको १०८ फिट अग्लो शिव त्रिशूल र १०८ शिवधाराले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय आकर्षण थप बढाएको छ। यसै अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले पनि लड्केश्वर महादेव मन्दिर पुगेर दर्शन तथा पूजाआजा गरेका छन्। आफूले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको लड्केश्वर महादेव मन्दिरमा पुगेर दर्शन गरेको मुख्यमन्त्री थापाले बताएका छन्।
स्थानीय धार्मिक किंवदन्तीअनुसार तत्कालीन राजा भूपतेन्द्र मल्लले लड्केश्वर महादेवको दर्शन तथा पूजाआजा गरेपछि यहाँ मेला लाग्ने परम्परा सुरु भएको मानिन्छ। मेलाका अवसरमा भक्तजनले पूजाआजा गर्नुका साथै भजनकीर्तन गर्ने र रातभर जाग्राम बस्ने परम्परासमेत रहिआएको छ। धार्मिक आस्था, संस्कृति र ऐतिहासिक पहिचानसँग जोडिएको यस मेलाको महत्त्वलाई ध्यानमा राख्दै पनौती नगरपालिकाले हरेक वर्ष यस अवसरमा स्थानीय बिदासमेत दिँदै आएको छ। पुस्तौँदेखि निरन्तर लाग्दै आएको लड्केश्वर मेला धार्मिक विश्वास र स्थानीय मौलिक संस्कृतिको संरक्षणसँगै पुस्तान्तरण गर्ने महत्त्वपूर्ण पर्वका रूपमा स्थापित हुँदै गएको छ।