काठमाडाैँ। काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा विदेशी नागरिकको शंकास्पद गतिविधि बढेको सूचना पाएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन र निगरानीलाई तीव्र बनाउने भएको छ।
मंगलबार र बुधबार गरिएको अनुगमनका क्रममा ठूलो संख्यामा विदेशी नागरिक शंकास्पद अवस्थामा फेला परेपछि प्रशासनले निगरानी बढाउने निर्णय गरेको हो। मंगलबार जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले पाँचखालबाट ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो। त्यस्तै, बुधबार बल्थलीस्थित बल्थली माउन्टेन रिसोर्टबाट ३६ जना जापानी र ४ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको थियो। काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार केही विदेशी नागरिक होटल तथा घरहरू भाडामा लिएर लामो समयदेखि बस्दै आएको र उनीहरूको गतिविधि शंकास्पद देखिएको सूचनाका आधारमा प्रशासन, प्रहरी र पर्यटन कार्यालयको संयुक्त टोलीले अनुगमन गरेको हो।
अनुगमनका क्रममा पाँचखालमा प्रहरी पुगेपछि केही व्यक्तिहरू भागाभाग गरेको र होटल नै भाडामा लिएर बसेका व्यक्तिहरूको साथबाट मोबाइल, ल्यापटप तथा डेस्कटप कम्प्युटरलगायत सामग्री फेला परेको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिनुभयो। त्यस्तै, बल्थलीस्थित रिसोर्टमा गरिएको अनुगमनका क्रममा विदेशी प्रहरीका ब्याज, जापानी भाषाका सामग्री, ‘ह्युगो पुलिस स्टेसन’ लेखिएको भित्ते सामग्री, १५ देखि १६ वटासम्म टेलिफोन बुथजस्ता संरचना, ब्युटी पार्लर तथा विभिन्न विद्युतीय उपकरण फेला परेको उहाँको भनाइ छ।
घटनाबारे प्रहरीले तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप अनुसन्धान र आवश्यक नियन्त्रणको प्रक्रिया अघि बढाइरहेका छन्। नियन्त्रणमा लिइएका विदेशी नागरिकलाई अध्यागमन विभागमा बुझाउने तयारी भइरहेको प्रशासनले जनाएको छ। यसैबीच, प्रमुख जिल्ला अधिकारी अधिकारीले होटल व्यवसायीहरूलाई आफ्नो होटलमा बस्ने विदेशी नागरिकको परिचय, बसाइ अवधि र गतिविधिबारे स्पष्ट जानकारी राख्न आग्रह गर्नुभएको छ। होटल तथा अन्य आवासीय क्षेत्रमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन व्यवसायीहरूलाई थप जिम्मेवार र सचेत रहन पनि प्रशासनले अनुरोध गरेको छ।