काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले प्रहरी प्रधान कार्यालयलाई पठाएको पत्रको भाषा संशोधन गरी पुनः पठाएको छ।
निर्वतमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको थियो। साथै, अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउँदै विपक्षीहरूलाई बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार सर्वोच्च अदालत प्रशासनले बिहीबार प्रहरी प्रधान कार्यालयलाई सूचना म्याद पठाएको थियो। तर, पत्रमा प्रयोग गरिएको भाषा नमिलेको भन्दै प्रहरी प्रधान कार्यालयले पत्र बुझ्न अस्वीकार गरेको थियो।
पहिलो पत्रमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीलाई ‘प्रहरी महानिरीक्षक पदमा बढुवा गरिएका भनिएका’ भनेर उल्लेख गरिएको थियो। त्यसपछि शुक्रबार अदालतले उक्त शब्दावली संशोधन गर्दै ‘अहिले बढुवा गरिएको प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसी’ भन्ने भाषा राखेर अर्को पत्र पठाएको हो। पत्रको शब्दावलीमा असहमति जनाउँदै प्रहरी प्रधान कार्यालयले पहिलो पत्र नबुझेपछि सर्वोच्च अदालतले भाषा सच्याएर पुनः सूचना म्याद पठाएको हो।