काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयबाट निराश नभई नयाँ जोश, जाँगर र आत्मविश्वासका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन्।
बिहीबार काठमाडौंमा आयोजित एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले एउटा निर्वाचनको परिणामले राजनीतिक आन्दोलनको भविष्य तय नगर्ने बताइन्। निर्वाचनमा लागेको धक्का अस्थायी भएकाले त्यसबाट पाठ सिक्दै संगठनलाई थप सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो। उनले आफू व्यक्तिगत पद, सुविधा वा अवसरको अपेक्षासहित पार्टीमा फर्किएको नभई मातृ पार्टीको वैचारिक विकास, संगठनात्मक मजबुती र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले सक्रिय भएको स्पष्ट पारिन्।
पार्टीभित्र आवश्यकताभन्दा मागका आधारमा कमिटी विस्तार गर्ने र संगठनलाई अनावश्यक रूपमा ठूलो बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले कमिटीहरूलाई नाम मात्रका नभई प्रभावकारी रूपमा काम गर्ने कार्यकारी संरचनाका रूपमा विकास गर्नुपर्ने बताइन्। साथै आलोचना र आत्मालोचनाको संस्कारलाई संस्थागत गर्दै नेता तथा कार्यकर्ताले सादगीपूर्ण जीवनशैली अपनाउनुपर्ने उनको भनाइ थियो। युवापुस्तामा बढ्दै गएको निराशा, बेरोजगारी र विदेश पलायनको समस्यालाई सम्बोधन गर्न जनसंगठनहरूले उद्यमशीलता प्रवर्द्धन, रचनात्मक अभियान र सार्थक बहस सञ्चालन गर्नुपर्ने उनले बताइन्। भण्डारीले पार्टी शुद्धीकरण, जनसंगठनको सुदृढीकरण र जलवायु न्यायका सवाललाई पनि प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिन्। जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई भाषण र दस्तावेजमा मात्रै सीमित नराखी पार्टीको दैनिक व्यवहार, निर्णय प्रक्रिया र संगठन सञ्चालनमा समेत कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिइन्।