काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक तथा केन्द्रीय सदस्य बासना थापाले तिहार, दीपावली तथा छठ पर्वले नेपाली समाजमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी विश्वासलाई बलियो बनाउन प्रेरित गर्ने बताएकी छन्।
तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै थापाले यी पर्वहरू केवल धार्मिक तथा सांस्कृतिक उत्सव मात्र नभई प्रकृति, जीवजन्तु, परिवार र समाजबीचको आत्मीय सम्बन्धलाई स्मरण गराउने महत्वपूर्ण अवसर भएको बताइन्।
उनले तिहारले प्रकृतिप्रतिको कृतज्ञता र पारिवारिक जिम्मेवारीको भावना सिकाउने तथा छठ पर्वले निष्ठा, शुद्धता, समानता र सामाजिक सद्भावको सन्देश दिने उल्लेख गरिन्।
थापाले जातजाति, भाषा, भेषभूषा तथा राजनीतिक आस्थाभन्दा माथि उठेर सबै नेपालीलाई एउटै परिवारका सदस्यका रूपमा जोड्न चाडपर्वले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
देशको वर्तमान अवस्थाबारे धारणा राख्दै उनले युवाहरू रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता, परिवारमा बढ्दो आर्थिक तथा मानसिक दबाब र गाउँघरमा सन्तानको प्रतीक्षामा रहेका आमाबुबाको अवस्थाप्रति चिन्ता व्यक्त गरिन्।
राजनीतिक दलका जिम्मेवार व्यक्तिहरूले जनताको सुखमा मात्र नभई दुःख र संकटका समयमा पनि साथ दिनुपर्नेमा जोड दिँदै उनले जनताको विश्वास कायम राख्नु राजनीतिक नेतृत्वको प्रमुख दायित्व भएको बताइन्।
नेपाली कांग्रेस जनताको अधिकार, सुशासन र न्यायको पक्षमा सधैँ उभिँदै आएको उल्लेख गर्दै थापाले पार्टीभित्रका सानातिना असमझदारी र मतान्तरलाई बिर्सिएर देश र जनताको हितका लागि एकताबद्ध भएर अघि बढ्न सबैलाई आग्रह गरिन्।
उनले चाडपर्वको उज्यालोले समाजमा व्याप्त निराशा, शंका र अविश्वास हटाउँदै सत्य, न्याय र सहकार्यको बाटोमा अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत व्यक्त गरिन्।
कार्यक्रममा उपस्थित सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा आमाबुबालाई दीपावली, तिहार र छठ पर्वको शुभकामना व्यक्त गर्दै थापाले आफ्नो मन्तव्य अन्त्य गरेकी थिइन्।
उनले चाडपर्वलाई आपसी सद्भाव अभिवृद्धि गर्ने अवसरका रूपमा उपयोग गर्दै जनताको विश्वास र देशको हितका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने सन्देश दिएकी छन्।