काठमाडौँ । मकवानपुरको भीमफेदीमा बिहीबार भएको सवारी दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ।
कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। पार्टीले दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई तत्काल उचित राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
कांग्रेसले पछिल्लो समय देशभर सडक दुर्घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भएको जनाएको छ। दुर्घटनाको जोखिम कम गर्न सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी सडक दुर्घटनाका कारणबारे विस्तृत अध्ययन गर्नुपर्नेमा पनि उसले जोड दिएको छ। सडक सुरक्षा, सवारीसाधनको अवस्था, चालकको जिम्मेवारी तथा यातायात व्यवस्थापनमा रहेका कमजोरी पहिचान गरी आवश्यक नीतिगत र व्यावहारिक सुधार गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।