बारा । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल उद्घाटन कार्यक्रमका क्रममा विवाद उत्पन्न भएपछि झडप भएको छ । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले नियन्त्रणमा लिन बल प्रयोग गर्ने क्रममा १४ वर्षीय बालक आनन्द पासवान गोली लागेर गम्भीर घाइते भएका छन् ।
प्रारम्भिक विवरणअनुसार कार्यक्रमस्थलमा विवाद चर्किँदै गएपछि प्रहरी परिचालन गरिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्ने प्रयास गरेको बताइए पनि सोही क्रममा पासवानलाई गोली लागेको जनाइएको छ ।
घाइते पासवानलाई सुरुमा वीरगञ्जस्थित एक मेडिकलमा उपचारका लागि लगिएको थियो । त्यहाँबाट थप उपचार आवश्यक भएपछि उनलाई काठमाडौं रेफर गरिएको बताइएको छ ।
घटनापछि सम्भावित तनावलाई मध्यनजर गर्दै घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीयका अनुसार अहिले घटनास्थलको अवस्था सामान्य बन्दै गएको छ ।
घटनाबारे बाराका डीएसपीले समेत जानकारी गराएका छन् । अस्पताल उद्घाटनजस्तो सार्वजनिक कार्यक्रममा विवाद चर्किएर एक बालक गम्भीर घाइते हुन पुगेको घटनाले सुरक्षा व्यवस्थापन र प्रहरीको बल प्रयोगबारे प्रश्न उठाएको छ ।
घटनाको वास्तविक कारण र गोली लाग्नुको परिस्थितिबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने देखिएको छ ।