काठमाडौं ।भेनेजुएलाको सेनाले कोलम्बियाली विद्रोही समूह नेसनल लिबरेसन आर्मी इएलएन को शिविरलाई लक्षित गरी गरेको सैन्य कारबाहीमा कम्तीमा १९ जनाको मृत्यु भएको छ।
पश्चिमी अपुरे राज्यस्थित सीमावर्ती क्षेत्रमा शुक्रबार बिहान ड्रोन र आक्रमणकारी हेलिकप्टर प्रयोग गरी हमला गरिएको हो।सैन्य स्रोतका अनुसार मारिनेमा अधिकांश भेनेजुएलाका नागरिक रहेका छन्। सीमावर्ती क्षेत्रमा मानव अधिकार उल्लङ्घनका घटनाको निगरानी गर्दै आएको गैरसरकारी संस्था फन्डारेड्सका संयोजक जुआन फ्रान्सिस्को गार्सियाले सुरुमा नौ जनाको मृत्यु भएको र त्यसको भोलिपल्ट थप १० जनाको शव सान फर्नान्डो पुर्याइएको बताएका छन्।
नाम सार्वजनिक नगर्ने सर्तमा एक सैन्य स्रोतले उक्त कारबाहीमा अमेरिकी गुप्तचर निकाय सीआईए र एफबीआईको सहयोग रहेको दाबी गरेका छन्। उनका अनुसार अमेरिकी निर्देशनमा आक्रमण गरिएको हो। यद्यपि, यस विषयमा अमेरिकी विदेश मन्त्रालय र भेनेजुएला सरकारले आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
भेनेजुएला र कोलम्बियाबीच करिब दुई हजार २०० किलोमिटर लामो सीमा जोडिएको छ। उक्त क्षेत्रमा लागुऔषध तस्करी, अवैध खनन तथा अन्य आपराधिक गतिविधिमा संलग्न सशस्त्र समूहहरूको प्रभाव रहँदै आएको छ। सन् २०१६ मा कोलम्बियाको फार्क विद्रोही समूहले सरकारसँग शान्ति सम्झौता गरेपछि इएलएन क्षेत्रकै प्रभावशाली सशस्त्र विद्रोही संगठनका रूपमा स्थापित भएको हो।
मानव अधिकार अधिवक्ता तथा सैन्य मामिलाकी जानकार रोसियो सान मिगुएलले पछिल्लो सैन्य कारबाहीलाई भेनेजुएलाको सैन्य रणनीतिमा आएको परिवर्तनका रूपमा व्याख्या गरेकी छन्। सैन्य स्रोतले सीमावर्ती क्षेत्रमा विद्रोहीका थप शिविर हुन सक्ने आशङ्का गर्दै खोजी तथा निगरानी अभियान जारी राख्ने बताएका छन्।
यस घटनालाई अमेरिकासँग भेनेजुएलाको बदलिँदो सम्बन्ध र त्यहाँको राजनीतिक परिवर्तनसँग जोडेर पनि हेरिएको छ। गत जनवरीमा निकोलस मदुरो सत्ताच्युत भएपछि डेल्सी रोड्रिगेजको नेतृत्वमा बनेको सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन पाएको बताइएको छ।
यसैबीच, कोलम्बियाका नवनिर्वाचित राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले इएलएनसहित लागुऔषध तस्करीमा संलग्न सशस्त्र समूहविरुद्ध कडा नीति अघि बढाइरहेका छन्। कोलम्बिया लागुऔषध तस्करी र सङ्गठित अपराध नियन्त्रणका लागि अमेरिकाको नेतृत्वमा सञ्चालित क्षेत्रीय प्रयासमा अन्य ल्याटिन अमेरिकी तथा क्यारिबियन राष्ट्रहरूसँग सहभागी हुँदै आएको छ।