काठमाडौं । बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका किशोर आदित्य पासवानलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
शनिबार अस्पताल उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा करिब १६ वर्षीय पासवान घाइते भएका थिए। उनको सुरुमा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार गरिएको थियो।नेशनल मेडिकल कलेजका पेडियाट्रिक सर्जन डा. विनोदकुमार रायसहितको चिकित्सकीय टोलीले शल्यक्रिया गरी पासवानको तिघ्रामा लागेको गोली निकालेको थियो। थप उपचार आवश्यक भएपछि उनलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको बाराका प्रहरी उपरीक्षक एसपी नरेन्द्र कुँवरले बताएका छन्।
काठमाडौं ल्याइएका पासवानलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। सङ्घीय सरकारको अनुदानमा निर्माण भएको १५ शय्याको अस्पताल उद्घाटन गर्ने क्रममा झडप हुँदा उनी घाइते भएका थिए।घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी प्रभु ढकालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिलाई घटनास्थल पुगेर अनुसन्धान गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।