काठमाडौं ।बाराको फेटा गाउँपालिका–३ स्थित नवनिर्मित फेटा अस्पतालको उद्घाटन कार्यक्रममा दुई पक्षबीच भएको विवाद र झडपको घटनाबारे छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले २०८३ कात्तिक १४ गते जारी गरेको पत्रअनुसार अस्पताल उद्घाटनका क्रममा स्थानीय दुई पक्षबीच विवाद हुँदा झडपको अवस्था सिर्जना भएको थियो। उक्त घटनामा स्थानीय आदित्य पासवानसहित केही व्यक्ति घाइते भएका थिए।घटनापछि शान्ति सुरक्षा कायम गर्न खटिएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको थियो। घटनाको वास्तविक कारण पत्ता लगाउन तथा सत्यतथ्य विवरण संकलन गर्न प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी प्रभु प्रसाद ढकालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो।
समितिमा नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर, धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर प्रसाद साह र नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्ज, पर्साका प्रहरी निरीक्षक जगतशंकर यादव सदस्य रहेका छन्।प्रहरी कार्यालयले समितिलाई घटनास्थलमा पुगेर स्थलगत छानबिन गर्न र घटनासँग सम्बन्धित तथ्य तथा विवरण संकलन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।समितिको प्रतिवेदनपछि अस्पताल उद्घाटनका क्रममा भएको विवादको वास्तविक कारण र घटनासँग सम्बन्धित थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।