काठमाडौं ।डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका छन्।
लागूऔषध कारोबारसम्बन्धी घटना सार्वजनिक भएपछि कारागारको ड्युटी इन्चार्ज परिवर्तन गरिएको तीन दिनमै कैदीबन्दी फरार भएपछि कारागारको सुरक्षा व्यवस्था र निगरानीमाथि प्रश्न उठेको छ।प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार शनिबार बिहान कैदीबन्दीको गणना गर्दा आठ जना अनुपस्थित भेटिएपछि घटना सार्वजनिक भएको हो। प्रारम्भिक अनुसन्धानमा उनीहरूले कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्डका संरचना भत्काएर सुरुङ खनेको खुलेको छ।
सुरुङ खन्ने क्रममा बीचमा सेफ्टी ट्यांकी परेपछि त्यसलाई छल्दै बाटो बनाइएको देखिएको छ। प्रारम्भिक विवरणअनुसार सुरुङ करिब साढे तीन मिटर लामो र चारदेखि पाँच फिट गहिरो रहेको प्रमुख जिल्ला अधिकारी हमालले बताएकी छन्।उनका अनुसार कैदीबन्दीले कारागारको सुरक्षा व्यवस्था र त्यसमा रहेका कमजोरी पहिचान गरी योजनाबद्ध रूपमा भागेको हुन सक्ने आशंका छ। घटनापछि सुरक्षाकर्मीको ड्युटी तथा जिम्मेवारीको समीक्षा भइरहेको छ। कारागारमा जडान गरिएका सीसीटीभी क्यामेराको अवस्थाबारे पनि परीक्षण भइरहेको छ।
फरार कैदीबन्दीको खोजीका लागि प्रहरीले सम्भावित क्षेत्रहरूमा टोली परिचालन गरेको छ। उनीहरूको मोबाइल फोनको प्राविधिक अनुसन्धान भइरहेको छ भने जिल्ला बाहिर तथा भारततर्फ जान सक्ने सम्भावनालाई ध्यानमा राखेर विभिन्न नाका र आवतजावत हुने स्थानमा निगरानी बढाइएको छ।घटनाको कारण र कारागारको सुरक्षा व्यवस्थामा भएको कमजोरी पत्ता लगाउन प्रहरी निरीक्षक विनयकुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिले अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी प्रमुख डीएसपी अनिलराज गिरीले बताएका छन्।
जबरजस्ती करणीका पाँच र चोरीका तीन जना
फरार भएका आठ जनामध्ये पाँच जना जबरजस्ती करणी र तीन जना चोरी मुद्दासँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ। उनीहरूमध्ये छ जना कैद सजाय भोगिरहेका कैदी हुन् भने दुई जना पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति हुन्।जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्तिमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाया, वडा नम्बर ४ का धनबहादुर बुढा भनिने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक रहेका छन्।
त्यस्तै, चोरी मुद्दामा कैद भुक्तान गरिरहेका जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भनिने कपिल परियार पनि फरार भएका छन्। चोरी मुद्दामै पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारीसमेत फरार भएको प्रहरीले जनाएको छ।कारागारमा जम्मा १७ जना कैदीबन्दी तथा थुनुवा रहेका थिए। शनिबार बिहान ६ बजे नियमित गणनाका क्रममा आठ जना नभेटिएपछि उनीहरू सुरुङ खनेर भागेको खुलेको हो।