काठमाडौं । प्रहरीले काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट २२ किलो सुन बरामद गरेको छ।
प्रहरी उच्च स्रोतका अनुसार बिहीबार बुढानीलकण्ठको चपली क्षेत्रमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष अपरेसन सञ्चालन गर्दै उक्त परिमाणको सुन बरामद गरेको हो। सुन रहेको सूचना पाएपछि प्रहरीले मध्याह्नदेखि नै चपली क्षेत्रमा अपरेसन चलाएको थियो। सोही क्रममा २२ किलो सुन बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार बरामद सुनसँग सम्बन्धित रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा समेत लिइएको छ। यद्यपि, पक्राउ परेकाहरूको पहिचान र उनीहरूमाथिको अनुसन्धानबारे प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन। बरामद सुन र घटनाबारे थप जानकारी दिन प्रहरीले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।