काठमाडौँ । नेपाली कांग्रेसले अब विगतका उपलब्धि सुनाएर मात्र जनताको विश्वास जित्न नसक्ने ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताएका छन्।
उनले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी विकास, सेवा प्रवाह र कामको परिणाम देखाउनुपर्ने आवश्यकता औँल्याएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्य पदका लागि खुला समूहबाट उम्मेदवारी दिएका महर्जनले महानगरपालिकाको नेतृत्वमा दुई कार्यकाल काम गर्दा हासिल गरेको अनुभवलाई अब पार्टीको नीति निर्माण र संगठन सञ्चालनमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका हुन्। उनका अनुसार अहिलेको पुस्ता भाषण, आश्वासन र विगतका कामको विवरणभन्दा वास्तविक परिणाम हेर्न चाहन्छ। त्यसैले कांग्रेसले आगामी दिनमा स्पष्ट योजना, प्रभावकारी नीति र कार्यान्वयनको क्षमतासहित अघि बढ्नुपर्ने उनको भनाइ छ।
महर्जनले महाधिवेशनबाट देशको विकासका लागि दीर्घकालीन सोच र प्रभावकारी योजना बनाउन सक्ने नेतृत्व चयन हुनुपर्नेमा जोड दिए। गगन थापा सभापति बन्ने अपेक्षाले युवा पुस्तामा नयाँ उत्साह देखिएको उल्लेख गर्दै उनले पार्टीको संशोधित विधानले पनि युवालाई समेट्ने आधार तयार गरेको बताए। पार्टीभित्र देखिएको गुटगत विभाजन अन्त्य गर्दै कांग्रेसलाई थप एकताबद्ध र व्यवस्थित बनाउनु आफ्नो प्राथमिकता रहेको महर्जनले बताए। उनले पार्टीलाई बलियो बनाउन अनुभवसँगै नयाँ सोच र कार्यक्षमता भएका व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने धारणा राखे।
महर्जनले आफूले ललितपुर महानगरपालिकामा दुई कार्यकाल काम गरेको अनुभवलाई अब राष्ट्रिय राजनीतिक तहमा उपयोग गर्न चाहेको बताए। उनका अनुसार अब कांग्रेसले ‘के गर्यौँ’ भन्ने विवरण सुनाउनेभन्दा ‘के परिणाम दियौँ’ भन्ने आधारमा जनतासामु प्रस्तुत हुन सक्नुपर्छ। महाधिवेशन प्रतिनिधिहरूले चर्चित अनुहारलाई मात्र नभई काम गरेर क्षमता प्रमाणित गरेका तथा नयाँ सम्भावना बोकेका व्यक्तिलाई पनि मूल्याङ्कन गरेर नेतृत्वमा ल्याउनुपर्ने उनको सुझाव छ। योग्य, सक्षम र परिणाम दिन सक्ने नेतृत्व चयनबाट मात्रै कांग्रेसको आगामी दिशा तय हुने महर्जनको भनाइ छ।