काठमाडौं ।श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकलाई कानुनअनुसार चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ।
श्रम ऐन, २०७४ अनुसार प्रत्येक श्रमिकले आफूले मनाउने धर्म, संस्कृति तथा परम्पराअनुसारको प्रमुख चाडपर्वका लागि वर्षमा एकपटक चाडपर्व खर्च पाउने व्यवस्था छ। यस्तो खर्च श्रमिकले प्राप्त गर्दै आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबर हुनुपर्ने कानुनी प्रावधान छ।विभागले रोजगारदाता तथा प्रतिष्ठानहरूले उक्त कानुनी व्यवस्थाअनुसार श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने जनाएको छ।यदि कुनै रोजगारदाता वा प्रतिष्ठानले चाडपर्व खर्च उपलब्ध नगराएमा सम्बन्धित श्रमिकले आफ्नो कार्यक्षेत्र हेर्ने श्रम तथा रोजगार कार्यालयमा उजुरी गर्न सक्नेछन्। त्यस्तै, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा समेत निवेदन दिन सकिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।विभागले श्रमिकको कानुनी अधिकार सुनिश्चित गर्न सम्बन्धित रोजगारदातालाई प्रचलित श्रम कानुनको पालना गर्न आग्रह गरेको छ।