काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने, बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा सहकार्य गर्ने र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि संयुक्त प्रयास बढाउने विषयमा छलफल भएको थियो। विशेषगरी रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको क्षति र त्यसपछि प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणमा आवश्यक सहयोगका विषयमा कुराकानी भएको थियो। राजदूत बोल्डिनले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना जनाइन्। उनले प्रभावित समुदायको अवस्थाबारे चासो राख्दै पुनःस्थापना प्रक्रियामा नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
मन्त्री बादीले नेपाल र अमेरिकाबीच सन् १९४७ देखि कायम कूटनीतिक सम्बन्ध आपसी सम्मान, विश्वास र विकास सहकार्यमा आधारित रहेको उल्लेख गरिन्। आगामी दिनमा दुई देशबीचको सहकार्य अझ विस्तार हुने विश्वाससमेत उनले व्यक्त गरिन्। मन्त्री बादीले सन् २०२६ अगस्ट २६ मा नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको बाढीका कारण महिला, किशोरी तथा बालबालिकाको सुरक्षा, संरक्षण र शिक्षामा थप चुनौती देखिएको जानकारी गराउँदै प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि अमेरिकी सहयोग आवश्यक रहेको बताइन्।
उनका अनुसार नेपाल सरकारले बाढी प्रभावित समुदायको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि उपलब्ध स्रोत, साधन तथा जनशक्ति परिचालन गरिरहेको छ। मन्त्रालयले जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको संरक्षण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले जानकारी दिइन्। भेटवार्तामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका विषयमा पनि थप सहकार्य र प्रभावकारी कदम चाल्नेबारे छलफल भएको थियो।