काठमाडौं ।नेपाल–चीन स्थल व्यापार चाडपर्वको समयमा प्रभावित भएको छ।
चीनतर्फ जोडिएका तीन प्रमुख व्यापारिक नाका सञ्चालनमा नआउँदा नेपालमा हुने आयात–निर्यात ठप्पजस्तै बनेको हो।भोटेकोशी नदीमा आएको बाढीले भन्सार कार्यालयसहित सडक तथा अन्य संरचनामा ठूलो क्षति पुर्याएपछि गत भदौ १० गतेदेखि रसुवागढी नाका बन्द छ। बाढीका कारण नाकासम्म पुग्ने सडकसमेत क्षतिग्रस्त भएकाले नियमित व्यापारिक आवागमन प्रभावित भएको हो।त्यसपछि सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट हुने व्यापार पनि रोकिएको छ। पहिरोको जोखिमलाई कारण देखाउँदै चिनियाँ पक्षले नाकाबाट हुने आयात–निर्यातमा रोक लगाएको बताइएको छ।
काठमाडौंबाट तुलनात्मक रूपमा नजिक रहेका यी दुई नाका बन्द भएपछि व्यापारीहरूले मुस्ताङको कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालेका थिए। तर असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि बेनी–जोमसोम सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि कोरला नाकाबाट हुने व्यापारसमेत प्रभावित बनेको छ।कोरला हुँदै नेपालतर्फ आएका करिब दुई सय कन्टेनर तथा ठूलो संख्यामा विद्युतीय सवारीसाधन मुस्ताङमै रोकिएका छन्। नाका र सडक अवरुद्ध हुँदा तीज, दसैँ–तिहारका लागि ल्याइएका सामानसँगै आगामी जाडोका कपडा बजारमा ल्याउन समेत समस्या भएको व्यवसायीहरू बताउँछन्।
चीनबाट सामान आयात गर्ने व्यवसायीहरूको संस्था एकता व्यापार संघ नेपालका अध्यक्ष तेजप्रसाद आचार्यले नियमित रूपमा आउने सामान रोकिँदा बजारमा अभाव र मूल्यवृद्धिको दबाब बढेको बताए।उनका अनुसार वैकल्पिक बाटो प्रयोग गर्दा ढुवानी खर्च र सामानमा गरिएको लगानीको लागत दुवै बढेको छ। सामान्य अवस्थामा करिब ७५ हजार रुपैयाँमा हुने ढुवानी खर्च विभिन्न नाका हुँदै सामान ल्याउनुपर्दा ५ लाख रुपैयाँसम्म पुगेको उनको भनाइ छ।
चाडपर्वलाई लक्षित गरेर व्यवसायीहरूले गरेको लगानी नाकामै रोकिएपछि आर्थिक भार थपिएको आचार्यले बताए। अहिले जाडोका सामग्री बजारमा ल्याउने समय भए पनि उत्तरी नाका तथा सडक सञ्चालनमा नआउँदा अभाव हुन सक्ने उनको भनाइ छ।नाका बन्द भएको लामो समय बितिसक्दा पनि समस्या समाधानका लागि सरकारी तहबाट अपेक्षित पहल हुन नसकेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले नाका सञ्चालनका लागि सम्बन्धित देशसँग आवश्यक कूटनीतिक संवाद र पहल गर्न सरकारसँग आग्रह गरेका छन्।अर्का व्यवसायी राजकुमार श्रेष्ठले पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष चीनबाट आउने सामानको मात्रा घटेको बताए। नियमित नाका बन्द हुँदा वैकल्पिक मार्गबाट सामान ल्याउनुपर्ने भएकाले ढुवानी लागत बढेर बजार मूल्यसमेत महँगो भएको उनको भनाइ छ।