काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पुगेकी छन्।
एमालेको स्थायी कमिटी बैठकका क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ ग्रहण गरेसँगै भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेश गरेकी छन्। पार्टीको उच्च तहमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएसँगै उनको राजनीतिक भूमिकाले औपचारिकता पाएको हो। राष्ट्रपति पदमा रहँदा भण्डारी दलीय राजनीतिबाट अलग रहेकी थिइन्। राष्ट्रपति पदको कार्यकाल पूरा गरेपछि उनको आगामी राजनीतिक भूमिकालाई लिएर विभिन्न चर्चा हुँदै आएको थियो। अब एमालेको नेतृत्व तहमा उनको नयाँ जिम्मेवारी तय भएसँगै पार्टीभित्रको राजनीतिक समीकरण र आगामी गतिविधिमा समेत उनको भूमिकालाई चासोका साथ हेरिएको छ।