काठमाडौं ।पर्साको वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग पहल गर्न आग्रह गरेका छन्।
विभिन्न माग राख्दै २४ दिनदेखि आन्दोलनमा रहेका रेजिडेन्ट डाक्टरहरूको टोली मंगलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालय पुगेको थियो। मन्त्रालयमा भएको छलफलका क्रममा पहिलो वर्षमा अध्ययनरत ४० भन्दा बढी डाक्टरले कलेजमा पढाइ तथा कामका क्रममा आफूहरूले सामना गर्नुपरेका समस्याबारे जानकारी गराएका थिए।रेजिडेन्ट डाक्टरहरूले कलेज व्यवस्थापनबाट विद्यार्थीमाथि अनावश्यक दबाब दिने गरिएको आरोप लगाएका छन्। उनीहरूले अध्ययन तथा स्वास्थ्य सेवासँगै व्यावसायिक प्रशिक्षणका लागि आवश्यक शैक्षिक वातावरणसमेत कलेजमा नरहेको गुनासो गरेका छन्।
आफूहरू कलेजमा फर्किएर अध्ययनलाई निरन्तरता दिन तयार भए पनि अहिलेको अवस्थामा त्यसका लागि अनुकूल वातावरण नरहेको उनीहरूको भनाइ छ। त्यसैले कलेजमा सुरक्षित, मर्यादित र शान्त वातावरण सुनिश्चित गरेर अध्ययनमा फर्कने अवस्था बनाउन सरकारसँग उनीहरूले माग गरेका छन्।रेजिडेन्ट डाक्टरहरूले सरकारप्रति आफूहरू आशावादी रहेको भन्दै समस्या समाधानको पहलका लागि मन्त्रालयसम्म आएको बताएका छन्। माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरूले संकेत गरेका छन्।
छलफलका क्रममा मन्त्रालयले डाक्टरहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ। शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले समस्याबारे आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।मन्त्रालयका अनुसार कलेजमा देखिएका समस्या समाधानका लागि सम्बन्धित पक्षसँग समन्वय गरी आवश्यक कदम चाल्ने विषयमा समेत छलफल भएको छ।