काठमाडौं ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने महिलाको सुरक्षालाई ध्यानमा राख्दै क्याबिनमा यात्रु नराख्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ।
महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला ‘सरोज’का अनुसार क्याबिनमा महिला यात्रुलाई राख्दा उनीहरूलाई असहज हुने तथा सुरक्षासम्बन्धी समस्या आउन सक्ने भएकाले यस्तो व्यवस्था गरिएको हो। उनका अनुसार महिला यात्रुका लागि बसभित्रै सुरक्षित र सहज सिट उपलब्ध गराउन व्यवसायी तथा कर्मचारीलाई भनिएको छ।सिटौलाले टिकट बिक्री गर्ने क्रममा महिला यात्रुलाई क्याबिनमा राख्ने गरी टिकट नदिन पनि सम्बन्धित कर्मचारीलाई निर्देशन दिइएको बताए। उनका अनुसार निर्देशनविपरीत महिला यात्रुलाई क्याबिनमा राखेको पाइएमा सम्बन्धित पक्षमाथि आवश्यक कारबाही गरिनेछ।
दसैँ, तिहारलगायत चाडपर्व नजिकिएसँगै सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले महासंघले अग्रिम टिकट बुकिङदेखि नै यस विषयमा निगरानी बढाएको जनाएको छ।महासंघले टिकट खरिद गर्दा यात्रुले आफ्नो सिट नम्बर र बसभित्रको सिटको स्थानबारे स्पष्ट जानकारी लिन आग्रह गरेको छ। साथै, देशभरका टिकट काउन्टर तथा यातायात कर्मचारीलाई महिला यात्रुलाई सुरक्षित सिट उपलब्ध गराउन प्राथमिकता दिन निर्देशन दिइएको जनाएको छ।